बुधबार सेयर बजार सामान्य अंकले भएपनि उकालो लागेको छ । आइतबार र मंगलबार लगातार दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार ३.५० अंकले बढेर १६३२.६६ अंकमा पुगेको छ । जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूहले घटाएको बजारलाई बैंकिङ, होटल, विकास बैंक, बीमा र अन्य समूह मिलेर सम्हालेका छन् । उत्पादनमूलक, जलविद्युत् र फाइनान्स क्रमशः ५३.१५, ८.५५ र ३.०१ अंकले घटेको बजारमा बैंकिङ, होटल, विकास बैंक, बीमा र अन्य समूह क्रमशः २.६९, ७.५५, ३.२, ७५.७८ र २.०३ अंकले बढेका छन् ।
परिसूचक बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १६ लाख ४२ हजार ४३ कित्ता सेयर छ हजार पाँच सय ८३ पटक खरिदविक्री हुँदा ७० करोड ८७ लाख ७९ हजार ५३ रुपैयाँको कारोबार भएको छ । मंगलबार ७८ करोडमाथिको कारोबार भएको छ ।
प्रडेन्सियल इन्स्योरेन्स प्रोमोटरको झन्डै साढे तीन करोडको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको झन्डै तीन करोडको कारोबार भएको छ । नेशनल हाइड्रोको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, नागबेली लघुवित्त प्रोमोटर, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।
हाम्रो विकास बैंक, कालिका माइक्रोक्रेडिट र नयाँ नेपाल लघुवित्तका सेयरधनीले क्रमशः ५.३३, ५.१५ र ५.०९ प्रतिशतका दरले कमाएका छन् । एनआईबिएल समृद्धि फण्ड, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान बैंक, नविल ब्यालेन्स फण्ड, दिव्यश्वरी हाइड्रो, तिनाउ विकास बैंक, गुडविल फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । लक्ष्मी भ्यालु फण्ड र कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले क्रमशः ५.५४ र ५.२१ प्रतिशतका दरले गुमाएका छन् । नेशनल हाइड्रो, महालक्ष्मी विकास बैंक, सिर्जना फाइनान्स, तारागाउँ रिजेन्सी, सानिमा माई हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।