२०७४ श्रावण ३१ गते

मंगलबारको सेयर बजार : दोहोरो अंकको गिरावट, कमाउनेभन्दा गुमाउने धेरै

मंगलबार पनि सेयर बजारमा गिरावट कायम रहेको छ । साताको सुरुवात नै गिरावटबाट भएको सेयर बजार मंगलबार १२.९७ अंकले घटेर १९२९.१६ अंकमा कायम भएको छ । आइतबार सेयर बजार ११.४० अंकले घटेको थियो । 

होटल समूहबाहेक सबै उपसूचक ओरालो लागेपछि समग्र बजार नै प्रभावित बनेको छ । बीमा समूह सबैभन्दा धेरै ८८.७६ अंकले घटेको छ । त्यसपछि, उत्पादनमूलक, जलविद्युत्, विकास बैंक र बैंकिङ क्रमशः २८.३४, २४.४९, १३.७४ र १०.८६ अंकले घटेका छन् । फाइनान्स र अन्य समूह क्रमशः ३.९६ र ५.७९ अंकले घटेका छन् भने होटल समूह ३.२ अंकले भएपनि उकालो लागेको छ । 

कारोबार रकममा पनि मंगलबार गिरावट आएको छ । आइतबार ८० करोडको कारोबार भएको बजार मंगलबार ७८ करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा १६० वटा कम्पनीको १६ लाख १५ हजार सात सय ३८ कित्ता सेयर सात हजार एक सय ३४ पटक खरिदविक्री हुँदा ७८ करोड ३६ लाख सात हजार चार सय आठ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, नेशनल हाइड्रोको साढे चार करोडमाथिको कारोबार भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स प्रोमोटर, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको झन्डै तीन करोडको कारोबार भएको छ भने नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, नेपाल लाइफ प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको एक करोड ९० लाखमाथिको कारोबार भएको छ । 

महालक्ष्मी विकास बैंकका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने वल्र्ड मर्चेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स र कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले क्रमशः ९.६८, ७.६१ र ५.९९ प्रतिशतले कमाएका छन् । यसबाहेक, नेपाल बैंक, तारागाउँ रिजेन्सी, बोटलर्स नेपाल, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्त लगायत २९ कम्पनीका सेयरधनीले कमाएका छन् । 

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ९.५१ प्रतिशतका दरले सम्पत्ति घटाउँदा चिलिमे हाइड्रो र नेपाल लाइफ प्रोमोटरका सेयरधनीले क्रमशः ९.०५ र ८.९४ प्रतिशतले गुमाएका छन् । त्यस्तै, अरुण फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनाइटेड मोदी हाइड्रो, सिनर्जी पावर, कालिका माइक्रोक्रेडिट, अरुण काबेली पावर, कञ्चन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।