आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशनका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ९४ हजार कित्ता आईपिओ जारी गर्नका लागि एनआईसी एशियासँग सम्झौता गरेको हो । मंगलबार आरम्भ माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आरम्भ माइक्रोफाइनान्सले आफ्नो जारी पूँजीमध्ये साधारण सेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एनआईसी एशिया क्यापिटल मार्फत निष्काशन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुख्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्र्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहँदै आएको छ ।
सेयर निष्काशन तथा विक्री प्रबन्धकसंगै एनआईसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एनआईसी एशिया क्यापिटलले निः शूल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।