२०७४ श्रावण २९ गते

पोखरा फाइनान्सको एफपिओ खुल्यो, प्रतिकित्ता २२० रुपैयाँ

पोखरा फाइनान्स लिमिटेडले आजदेखि ९ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ निष्काशन गरेकोछ । एक सय रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरिएको एफपिओमा भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।  

उक्त एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइने छ। एआइविएल  क्यापिटल लाजिम्पाट र पोखरा फाइनान्सको कार्यालय पोखराबाट आवेदन दिन पाइनेछ । फाइनान्सको एफपिओ आस्वा प्रणालीबाट भर्न पाइने छ। 

संस्थाको हालको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। एफपिओ जारी गरेपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ पुग्नेछ। फाइनान्सले एफपिओ जारी गरेपछि १५ प्रतिशत हकप्रद जारी गर्ने आफ्नो क्यापिटल प्लानमा उल्लेख गरेको छ।

यो सँगै फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख रुपैयाँ पुग्नेछ। यसपछि पनि नपुगेको चुक्ता पूँजी बोनसबाट पुर्याउनु पर्नेछ। बोनसको लागि बैंकको जगेडा कोषमा २१ करोड ४६ लाख रुपैयाँ रहेको छ। साथै फाइनान्सले गत आर्थिक बर्षमा ८ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ।

एफपिओ जारी गरेसँगै फाइनान्सको चुक्ता पूँजीको संरचना संस्थापक सेयरधनीहरुको ५१ प्रतिशत र ४९ प्रतिशत सर्वसाधारणको हुनेछ।