२०७४ श्रावण २७ गते

गभर्नरद्धारा स्पर्स लघुवित्तको उद्घाटन, नाफामुखी नबन्न सुझाव

नेपाल राष्ट्र बैंकबाट २०७४ असार २७ गते शुक्रबार लघुवित्त कारोबार गर्ने इजाजतपत्र प्राप्त ५२ औँ लघुवित्त वित्तीय संस्था स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको औपचारिक उद्घाटन भएको छ । पोखरालेखनाथ महानगरपालिका स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक औपचारिक कार्यक्रमका बीच शुक्रवार औपचारिक उद्घाटन गरे ।

नाफामुखी नबन्न सुझाव
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले देशमा संख्यात्मक रुपमा धेरै लघुवित्त संस्थाहरु स्थापना भईरहेकोले अबका दिनहरुमा गुणात्मक बिकास गरी गुणस्तरीय सेवा दिनुपर्ने कुरा बताए । प्रादेशिक अवधारणामा गइसकेकोमा ७ वटा प्रदेशको ७४४ वटा स्थानीय क्षेत्रमध्ये करीव २५० वटा गाउँपालिकामा हाल बैंकिङ्ग पहुँच नपुगेकोले कुनै एक वाणिज्य बैंकको अनिवार्य शाखा पुग्नुपर्ने नियम बनाई सबै बैंकहरुलाई निर्देशन दिइसकिएको र सोही अनुरुप बैंकहरुले पनि प्रतिवद्धता जनाइसकेको हुँदा सोही क्षेत्रमा लघुवित्त संस्थाहरुले शाखा खोली कार्यक्रम विस्तार गर्न सल्लाह दिए । त्यसैगरी लघुवित्त भनेको विशुद्ध नाफा कमाउने क्षेत्र नभई सामाजिक सेवा पनि भएकोले नाफा कमाउने मात्र उद्धेश्य राखेर काम नगर्न संचालकहरुलाई सुझाव समेत दिए । करीव एक दशक अगाडी नै क, ख र ग वर्गका वित्तीय संस्थाहरु दर्ता गर्न रोक लगाइसकिएको भएतापनि ग्रामीण दुरदराजमा काम गर्ने घ वर्गका संस्थाहरु दर्ता खुला रहेकोले अलिकति पैसा भए लघुवित्त खोल्ने परिपाटीले गर्दा हाल लघुवित्तको मर्म विपरित कार्य हुन थालेकोले यसको पनि दर्तामा रोक लगाइएको कुरा स्पष्ट पारे । यस वित्तीय संस्थाले काम गर्दा सरोकारवालाहरु तथा नियमनकारी निकायहरुले गुनासो नआउने गरी काम गर्न समेत गभर्नर डा. नेपालले सुझाब दिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका पोखरा प्रमुख पोमनाथ गौतम, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रबक्ता नारायण प्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रो. डा.पुष्पराज कँडेल, नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायतका बक्ताहरुले वित्तीय संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै गरी वित्तीय संस्थाका संचालक राजुराम अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

वित्तीय संस्थाका अध्यक्ष प्रा. डा. शुशिल भक्त माथेमाले वित्तीय संस्था स्थापना गर्नुको उद्धेश्य माथि प्रकाश पार्दै सोही उद्धेश्य बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गरे । साथै नियमन निकायको निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै ग्रामीण क्षेत्रको गरिबी न्युनीकरण गर्न संस्थाले दुरदराजमा रहेका विपन्न वर्गलाई सेवा दिने दाबी गरे । त्यसैगरी अध्यक्षले हाल लघुवित्तलाई प्रदान गर्ने विपन्न वर्गको कर्जालाई बैंक वित्तीय संस्थाहरुले अन्य कर्जा सरह ब्याजदर लिने कार्य गर्दै आएको हुँदा लघुवित्त संस्थाहरुलाई काम गर्न अप्ठ्यारो परेकोले त्यसतर्फ ध्यान दिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरे ।
कार्यक्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले हाल ५.६० करोड चुक्तापूँजी राखी १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त संचालनमा ल्याउने कुरा जानकारी गराए । वित्तीय संस्थाले चालु आ.व. मा १५ वटा शाखा मार्फत करिब १२००० विपन्न सदस्यहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी उनले गराए । 

लघुवित्त कार्यक्रमसँगै रेमिट्यान्स, लघुविमा, जिवन विमाको एजेन्ट, प्रविधि मैत्री लघुवित्त बैंकिङ्ग सेवा, सामाजिक कार्यक्रमहरु, तालिम तथा  विकाशका कार्यक्रमहरु आदि संचालन समेत गरिने छ । स्थानीय सिप तथा क्षमताको प्रयोग गर्ने उद्देश्यले शाखा रहेका स्थानीय स्थानहरुको सदस्य महिला, स्थानीय महिला पुरुष तथा जोस जागर भएको युवाहरुलाई लघुवित्त कार्यक्रममा सहभागी गराएर अगामी ५ वर्ष भित्र ७० वटा शाखामा करिब १४० महिला तथा युवाहरुलाई सहजकर्ताको रुपमा स्वरोजगार बनाउने खालको कार्यक्रम संचालन गरिने बताइएको छ । अभिभावक तथा सदस्यहरुको भेला तथा गोष्ठीहरु आयोजना गरी समय सापेक्ष कार्यक्रमलाई दिगो बनाउन सल्लाह सुझाव तथा गुनासो सुन्ने काम गरिने र वित्तीय साक्षरतालाई अभियानको रुपमा अघि बढाउने बताइएको छ ।