Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

६.२२ अंकले परिसूचक घट्दा कारोबारमा पनि गिरावट, कमाउने र गुमाउने कोको ?

२०७४ श्रावण २५ गते

बुधबार नेप्से ६.२२ अंकको गिरावटसँगै १६६१.७२ अंकमा कायम भएको छ । बीमा र होटलबाहेक सबै समूह राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २५.१४ अंकले घट्दा बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ६.४८, १२.७२, १२.७५, ३.७ र १.४५ अंकले घटेका छन् । बीमा र होटल भने क्रमशः ८.७१ र १.३५ अंकले बढेका छन् । 

परिसूचक ओरालो लागेपछि कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको २८ लाख ३२ हजार चार सय ४५ कित्ता सेयर आठ हजार छ सय ४७ पटक खरिदविक्री हुँदा ९१ करोड ६२ लाख ४१ हजार सात सय ३२ रुपैयाँको मात्रै कारोबार भएको छ । 

नागरिक लगानी कोषको सबैभन्दा धेरै तीन करोड ९५ लाख ८७ हजार रुपैयाँको कारोबार हुँदा नेपाल लाइफको तीन करोड ९० लाखको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्डको पनि तीन करोडमाथिको कारोबार भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको झन्डै तीन करोडको कारोबार भएको छ । नविल बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र मेरो माइक्रोफाइनान्सको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल बैंक, एसियन लाइफ, नेशनल हाइड्रो लगायतको एक करोड ८० लाखमाथिको सेयर कारोबार भएको छ । 

जम्मा ६१ कम्पनीको सेयरमूल्य बढेको बजारमा सबैभन्दा धेरै तिनाउ विकास बैंकका सेयरधनीले ५.६६ र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले ५.४७ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, रिलायन्स फाइनान्स, मेरो माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, गुराँस लाइफ लगायतका सेयरधनीले पनि कमाएका छन् । 

लक्ष्मी भ्यालु फण्डका सेयरधनीले १० प्रतिशतका दरले गुमाउँदा जनरल फाइनान्स, छ्याङ्दी हाइड्रो, कुबेर मर्चेन्ट फाइनान्स र हिमालयन डिस्टीलरीका सेयरधनीले क्रमशः ८.८४, ८.७७, ६.७ र ५.३ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, नेपाल ग्रामीण विकास बैंक, नेपाल लाइफ प्रोमोटर, अरुण फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।