रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यससँगै रिलायबल गत आर्थिक बर्षको कमाईबाट बोनस घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । रिलायबलले अहिले बिक्री गरिरहेको ५० प्रतिशत हकप्रदलाई हिसाब नगरी २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल कम्पनीको पाँच करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी ६ करोड ७८ लाख पुग्नेछ । माइक्रोफाइनान्सले अहिले ५० प्रतिशत हकप्रद सेयर बिक्री गरिरहेको छ । हकप्रदमा आवेदन गर्ने म्याद श्रावण २९ गतेसम्म रहेको छ ।
रिलायवलले गत आर्थिक बर्षमा एक करोड १२ लाख रुपैयाँमा खुद नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१८, मूल्य आम्दानी अनुपात ९७.६९ गुणा छ ।


