यो साता सेयर बजारको सुरुवात र बन्द दुवै गिरावटबाट भयो । बीचको तीन दिन दिन भने सेयर बजार बढेको थियो । यद्यपि, बजारमा खासै ठूलो घरबढ भने भएन । गत साताको अन्तिम दिन १६४६.५३ अंकमा रहेको नेप्से परिसूचक यो साता १६६०.५८ अंकमा छ । जसअनुसार, यो साता नेप्से परिसूचक १४.०५ अंकले बढेको छ । गत साता परिसूचक १०.७८ अंकले बढेको थियो । बीमा समूहको सूचक साताको पाँचै दिन उच्च दरमा घटेपछि समग्र बजार नै प्रभावित भएको देखिएको छ । अन्य समूहहरुमा पनि लगानीकर्ताको खासै आकर्षण देखिएको छैन ।
आइतबारबाहेक सबै दिन एक अर्बमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै विहीबार एक अर्ब १३ करोडको कारोबार भएको छ । अन्य दिनको कारोबार मुस्किलले एक अर्बमाथि पुगेको छ । समग्रमा साताभरमा सवा पाँच अर्बको कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकममा गिरावट आएको हो । गत साता झन्डै साढे पाँच अर्बको कारोबार भएको थियो ।
नेपाल ग्रामीण विकास बैंक, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक, मुक्तिनाथ विकास बैंक लगायतको राम्रो कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सका सेयरधनीले यो साता सबैभन्दा धेरै कमाएका छन् । यसका अलावा, मिर्मिरे माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि कमाएका छन् । गुमाउने कम्पनीहरुमा भने धेरै फाइनान्स कम्पनीहरु छन् । जेविल्स फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका सेयरधनीले यो साता गुमाएका छन् ।