रुपा कोइराला । मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको चुक्तापूँजी वृद्धि गर्न दिएको निर्देशनका कारण गत आवमा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सङ्ख्या अत्याधिक बढेको छ । आर्थिक वर्ष २०७३।७४ मा मात्रै नेपाल धितोपत्र बोर्डले कुल ४५ करोड ६४ लाख २४ हजार एक सय ४२ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । सो अवधिमा १७ वाणिज्य बैङ्क, २९ विकास बैङ्क, १० वित्त कम्पनी, नौ लघुवित्त विकास बैङ्क, पाँच बीमा कम्पनी र एक जलविद्युत् कम्पनी गरी कुल ७१ कम्पनीले हकप्रद निष्काशन गर्ने अनुमति पाएका थिए । जसमध्ये, ६४ कम्पनीले आव २०७३।७४ मै हकप्रद सेयर निष्कासन गरिसकेका छन् भने सात वटा कम्पनीहरु हकप्रद जारी गर्ने अन्तिम तयारीमा लागेका छन् । धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर, काबेली विकास बैङ्क, सिन्धु विकास बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क र अरुण फाइनान्सको हकप्रद सेयर निष्कासन हुन बाँकी छ ।
हकप्रद निष्काशनको प्रक्रियामा रहेका कम्पनीहरुमध्ये, पुँजीवृद्धिका लागि हकप्रद जारी गर्न लागेका वाणिज्य बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ ।
सेञ्चुरी कमर्सियल बैंकको हकप्रद साउन १६ गतेदेखि
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यही साउन १६ गतेदेखि १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
भदौ १८ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं र सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयहरुबाट बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ । सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ । सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।
तीन बैंकहरु पाइपलाइनमा
सेञ्चुरीबाहेक तीन वाणिज्य बैंकहरु हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा छन् । प्रभु बैंकले १० बराबर चारको अनुपातमा दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नघाउँदै छ । मेगा बैंकले १० बराबर ६.५ को अनुपातमा दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । उक्त हकप्रद सेयर निष्काशन र राष्ट्रिय स्तरको टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंकको चुक्तापुँजी पनि आठ अर्ब नाघ्नेछ । त्यस्तै, युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई गाभ्ने प्रक्रियामा रहेको सिभिल बैंकले १० बराबर चारको अनुपातमा दुई करोड सात लाख ४० हजार आठ सय ८६ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । एक्विजिसन र हकप्रद निष्काशनपनि सिभिलको चुक्तापुँजी पनि आठ अर्ब नाघ्नेछ ।