साताको अन्तिम दिन पनि सेयर बजार बढेरै बन्द भएको छ । नेप्से परिसूचक १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ भने कारोबार रकम पनि सामान्य बढेको छ । बीमा र जलविद्युत् क्रमशः १६०.५३ र २१.१४ अंकले घट्दा पनि उत्पादनमूलक र विकास बैंकले बजारलाई सम्हालेका छन् । यी समूहहरु क्रमशः ५४.१७ र २२.८९ अंकले बढेका छन् । यसबाहेक, फाइनान्स ०.७३ अंकले घटेको छ भने बैंकिङ, होटल र अन्य क्रमशः ६.१३, ६.६६ र ०.५८ अंकले बढेका छन् ।
विहीबार दिनभरमा १४९ वटा कम्पनीको १८ लाख ३९ हजार चार सय २४ कित्ता सेयर नौ हजार १५ पटक खरिदविक्री हुँदा एक अर्ब १५ करोड आठ लाख २० हजार नौ सय ८८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, प्रभु इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको कारोबारले पाँच करोड नाघेको छ भने सगरमाथा इन्स्योरेन्सको झन्डै साढे चार करोडको कारोबार भएको छ । नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा साना किसान विकास बैंक, शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
काबेली विकास बैंकका सेयरधनीले १० प्रतिशतले कमाउँदा हिमालयन डिस्टीलरी, लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटका सेयरधनीले क्रमशः ९.९५, ९.९० र ९.७९ प्रतिशतले कमाएका छन् । मेरो माइक्रोफाइनान्स, वरियन्टल होटल्स, नेनल माइक्रोफाइनान्स, बैंक अफ काठमाण्डू, महिला सहयात्रा माइक्रोफाइनान्स र सहयोगी विकास बैंकका सेयरधनीले पनि राम्रो कमाइ गरेका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको अरुण फाइनान्सका सेयरधनीले ६.५६५७ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् भने राष्ट्रिय बीमा कम्पनी र रिलायन्स फाइनान्सका सेयरधनीले क्रमशः ५.६१ र ५.२४ प्रतिशतले गुमाएका छन् । यसबाहेक, कुबेर मर्चेन्ट फाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


