२०७४ श्रावण ८ गते

मेनेजमेन्टका विद्यार्थी बेरोजगार बस्नु नपर्ने, बैंकिङ क्षेत्रमा हजारौँलाई अवसर

अब व्यवस्थापन संकायमा अध्ययन गरेकाहरुले बेरोजगार बस्नु नपर्ने भएको छ । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी खुल्दैछ । सरकारले अबको एक वर्षभित्रमा सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप कार्यअघि बढाइसकेको छ । कुन बैंक कुन कुन स्थानीय तहमा जाने भन्ने समेत निर्णय भइसकेको छ । अब, धमाधम बैंकहरु शाखा विस्तार गर्न थाल्नेछन् । ती शाखाहरुका लागि सबै तहका कर्मचारी आवश्यक पर्नेछ ।   

२७ वाणिज्य बैंकका ४१२ शाखा
२७ वाणिज्य बैंकले २४४ वटा स्थानीय तहमा शाखा विस्तार गर्दैछन् । प्रभु बैंक सबैभन्दा बढी अर्थात् ३१ स्थानीय तहमा प्रभु बैंक जाँदैछ । सरकारी स्वामित्वका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक क्रमशः सात वटा, छ वटा र पाँच वटा स्थानीय तहमा जाने भएका छन् । सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक, कुमारी बैंक, मेगा बैंक र एनएमबि बैंक क्रमशः १९, १८, १५, १३, ११ र १० स्थानीय तहमा पुग्दैछन् । यसबाहेक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंक नौरनौ वटा स्थानीय तहमा जाँदैछन् भने नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बंगलादेश बैंक सात÷सात स्थानीय तहमा जाँदैछन् । त्यस्तै, सेञ्चुरी बैंक, सिटिजन्स बैंक, नबिल बैंक र प्राइम बैंकले छरछ स्थानीय तहमा शाखा विस्तार गर्ने भएका छन् भने सानिमा बैंक, एनआईसी एसिया बैंक, एनसीसी बैंक, माछापूछ्रे बैंक र एभरेष्ट बैंकले पाँचरपाँच स्थानीय तहमा शाखा पुर्याउनेछन् । हिमालयन बैंकले भने सबैभन्दा थोरै तीन जिल्लामा मात्रै शाखा पुर्याउने भएको छ ।  

यसै वर्ष २५० स्थानीय तहमा बैंक
कुल ४१२ स्थानीय तहमध्ये २५० वटामा चालू आर्थिक वर्ष भित्रमा नै शाखा विस्तार हुनेछ । शाखा स्थापना गरी सञ्चालनमा ल्याउनका लागि बैंकहरुले कर्मचारी माग गर्नेछन् । मेनेजरदेखि सहायकसम्मको पदमा सबै शाखाहरुमा कर्मचारी नियुक्त गर्न ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने देखिन्छ । कम्तीमा पनि दुई हजार कर्मचारीको आवश्यकता पर्ने देखिन्छ । बैंकको जागीर भएकाले व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर गरेकाहरुको माग अत्याधिक हुनेछ । 

विस्थापित शाखाको पुनःस्थापना 
राष्ट्र बैंकले सशस्त्र द्वन्द्वकालमा विस्थापित बैंक शाखाहरुको पुनःस्थापनामा पनि जोड दिने जनाएको छ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका एक सय ६७ शाखा पुनःस्थापना हुन बाँकी छन् । द्वन्द्वकालमा तीन सय १८ शाखा विस्थापित भएकोमा हालसम्म एक सय ५१ शाखा पुनःस्थापना भएका छन् । बाँकी शाखाको पुनःस्थापना गर्नतर्फ राष्ट्र बैंकले जोड दिनेछ । यी शाखाका लागि पनि कर्मचारी आवश्यकता पर्ने देखिन्छ । 

यसरी, अबका दिनहरुमा बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी अवसर सिर्जना हुने भएकाले व्यवस्थापन संकायमा अध्ययन सकेर बसेका व्यक्तिहरुले तयारी गर्नु राम्रो हुन्छ । बैंकिङ नीति तथा नियमहरु, बैंकमा प्रयोग हुने गरेका प्रविधिहरु लगायतका कुराहरुको अध्ययन गर्दै गरे यो पटक तपाईँले खाडी मुलुक जानेबारे सोच्नु पर्दैन ।