Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चार वित्तीय संस्थाले मागे हकप्रद सेयर निष्काशन गर्ने अनुमति

२०७४ असार २७ गते

पछिल्लो एक साताभित्रमा चार वटा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गरेका छन् । चुक्तापुँजी वृद्धिका लागि राष्ट्र बैंकले दिएको समयावधि सकिन लागेपछि बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद निष्काशनको प्रक्रियालाई तीव्र गतिमा अघि बढाएका हुन् । 

रिलायन्स फाइनान्स लिमिटेडले १० बराबर चार दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै गत साताको बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड छ लाख ५७ हजार एक सय ६० रुपैयाँको २३ लाख छ हजार पाँच सय ७१ दशमलव ६० कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले २५ प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गर्दै गत आइतबार बोर्डमा आवेदन दिएको छ । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ७३ लाख ९२ हजार आठ सय ७७ रुपैयाँ बराबरको १९ लाख ७३ हजार नौ सय २८ दशमलव ७७ कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले एक बराबर एक दशमलव दुईको अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको छ । यो बैंकले पनि आइतबार बोर्डमा निवेदन दिएको हो । नेपाल कम्युनिटीले एक सय रुपैयाँ अंकित मूल्यमा २६ करोड ४३ लाख ५३ हजार आठ सय ८० रुपैयाँको २६ लाख ४३ हजार पाँच सय ३८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले एनआईबिएल क्यापिटल मार्केंट लिमिटेडलाई नियुक्त गरेको छ । 

त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकले एक बराबर दुई दशमलव २५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति माग्न बैंक सोमबार धितोपत्र बोर्डमा पुगेको थियो । कर्णालीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।