सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अरुण फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सेञ्चुरीले सोमबार र अरुणले मंगलबार क्रमशः २५ प्रतिशत र शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएका हुन् ।
सेञ्चुरी बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँ बराबरको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । हाल सेञ्चुरीको चुक्तापुँजी चार अर्ब ७१ करोड ७६ लाख रुपैयाँ रहेको छ । १० बराबर चारको अनुपातमा हकप्रद सेयर जारी गरेपवछि बैंकको चुक्तापुँजी छ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ ।
त्यस्तै, अरुण फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १५ करोड रुपैयाँको १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा फाइनान्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको एक बराबर एकको अनुपातमा हकप्रद जारी गरेपछि चुक्तापुँजी ३० करोड रुपैयाँ पुग्नेछ ।


