Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा छायो हरियाली, सबै उपसूचक बढे, कारोबार एक अर्ब नजिक

२०७४ असार २७ गते

मंगलबार सेयर बजार ९.७९ अंकले बढेर १५८५.०१ अंकमा पुगेको छ । सबै उपसूचकहरु हरियो भएपछि समग्र बजारमा नै हरियाली छाएको छ । सबैभन्दा धेरै बीमा समूह ६०.७९ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः ७.९५, ३५.२८, १३.४८, १५.८, ७.५२, ०.६८ र २.३१ अंकले बढेका छन् ।

कारोबार रकम पनि सोमबारको तुलनामा उल्लेख्य रुपमा बढेको छ । सोमबार ६९ करोडको मात्रै कारोबार भएको बजारमा मंगलबार झन्डै एक अर्बको कारोबार भएको छ । दिनभरिमा १४९ वटा कम्पनीको १९ लाख ३० हजार सात सय ४२ कित्ता सेयर चार हजार आठ सय पाँच पटक खरिदविक्री हुँदा ९९ करोड ६३ लाख ३० हजार चार सय ५४ रुपैयाँको कारोबार भएको हो । 

कुल कारोबारमध्ये, नविल बैंकको प्रोमोटर सेयरको २४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको पौने १० करोडको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रमशः चार करोड ९४ लाख र चार करोड ८९ लाखको कारोबार हुँदा एनसीसी बैंकको प्रोमोटर सेयरको पनि झन्डै चार करोडको कारोबार भएको छ । प्रभु बैंक प्रोमोटर, एनसीसी बैंक र सनराइज बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने एनएमबि माइक्रोफाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको पौने दुई करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाउँदा कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले ९.६२ र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले ५.९० प्रतिशतले कमाएका छन् । गुराँस लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, जानकी फाइनान्स, सिनर्जी फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, एनएमबि बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नेशनल लाइफ इन्स्योरेन्सका प्रोमोटर सेयरधनीले ९.०९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । यसबाहेक, नागबेली लघुवित्त, सेन्ट्रल फाइनान्स, रुरल माइक्रोफाइनान्स, रिडी हाइड्रो, मितेरी डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई समुन्नत स्किम, एनआईबिएल समृद्धि फण्ड, एलआईसी नेपाल, बरुण हाइड्रो लगायत २९ वटा कम्पनीका सेयरधनीले पनि गुमाएका छन् ।