२०७४ असार २७ गते

लघुवित्त क्षेत्रमा मौद्रिक नीतिले जगायो आशा

आर्थिक वर्ष २०७४।७५ को मौद्रिक नीतिप्रति लघुवित्त क्षेत्र आशावादी देखिएको छ । ग्रामिण क्षेत्रमा र विशेष गरी विपन्न वर्गमा लगानी गर्दै आएका लघुवित्तहरु लघुवित्तको संख्या नबढ्दा, वाणिज्य बैंकलाई विपन्न वर्गमा वाध्यकारी नबनाईदा तथा लघुवित्तको पुँजीबृद्धि नहुँदा खुसी छन् । हाल नेपालमा ५१ वटा लघुवित्तहरु नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्ति गरी संचालन भइरहेका छन् । मौद्रिक नीतिका बारे केही लघुवित्तकर्मीको प्रतिनिधिमुलक प्रतिक्रिया यहाँ प्रस्तुत गरिन्छ । 

मौद्रिक नीति स्वागतयोग्य छ’
रामचन्द्र जोशी, कार्यबाहक अध्यक्ष माइक्रो फाइनान्स बैंकर्स एशोसिएसन 
२०७४/७५ को मौद्रिक नीति समग्र लघुवित्तहरुका लागि स्वागतयोग्य छ । हामीले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको स्वागत गरेका छौं । हामीले पठाएका धेरैजसो सुझावहरु समेटिएका छन् । केहि साना तिना सुझावहरु नसमेटिएको भए पनि क्रमिक रुपमा पछि त्यो सुझावहरु पनि समेटिने आशा गरेका छौं । नयाँ लघुवित्तहरुलाई अनुमति दिने काम मौद्रिक नीतिले रोकेको छ । यो पनि स्वागतयोग्य छ । नयाँ थप्नुभन्दा पुरानालाई राम्रो बनाएर अघि बढाउनु राम्रो कुरा हो । वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरेको छ । वाणिज्य बैंकले आफ्नो कुल कर्जा लगानीको ५ प्रतिशत, विकास बैंकहरुले ४.५ प्रतिशत र वित्त कम्पनीहरुले ४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था भने यथावत कायम गरिएको छ । 

‘मौद्रिक नीति ठिक छ, स्प्रेड रेटबारे सम्बोधन भएन’
रामबहादुर पाण्डे, अध्यक्ष, आशा लघुवित्त वित्तीय संस्था
समग्रमा भन्नु पर्दा यसपालिको मौद्रिक नीति राम्रो छ । लघुवित्त ग्रामिण क्षेत्रमा सक्रिय भएका कारण विपन्न बर्गमा लघुवित्तकै भूमिका छ । वाणिज्य बैंकलाई प्रत्यक्ष विपन्न वर्गमा लगानी गर्ने कुरा हटाइनुले लघुवित्तलाई सहयोग भएको छ । लघुवित्तको संख्या बृद्धिलाई पनि मौद्रिक नीतिले रोकेको छ । यी सबै कुरा अत्यन्तै सकारात्मक छन् । सम्बोधन हुन नसकेका अरु केहि बिषयहरु राष्ट्र बैंकले पछि सम्बोधन गर्ने छ भन्ने मलाई लाग्छ । आर्थिक बर्ष २०७४÷७५ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले लघुवित्तहरुको चूनौतीको रुपमा रहेको स्प्रेड रेटको समस्या भने समधान भएको छैन । लघुवित्तहरुका लागि १८ प्रतिशतको व्याजदर तोकिएको छ । हामीले वाणिज्य बैंकसँग ११ देखि १३ प्रतिशतसम्म कर्जा लिएर १५ देखि अधिकतम् १८ प्रतिशतसम्ममा मात्रै कर्जा लगानी गरेका छौं । हामीलाई पव्लिक डिपोजिट दिइएको छैन । यस्तो अवस्थामा हामीलाई यो स्प्रेड रेटमा काम गर्न कठिन छ । मैले व्याजदर बढ्नुपर्छ चाहिँ भन्न खोजेको होइन । राष्ट्र बैंकले कसरी हुन्छ कमर्शियल बैंकसँग कुरा गरेर हामीले लिने व्याजदर कम गराउन भूमिका खेले हुने थियो । 

‘समग्रमा यसपालीको मौद्रिक नीति स्वागतयोग्य छ’
प्रमेश आचार्य, प्रमुख कार्यकारी अधिकृत, वोमी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
लघुवित्त क्षेत्रले मौद्रिक नीतिको विरोध गर्नुपर्ने अबस्था छैन । एउटा स्प्रेट रेटको कुरा बाहेक अरु सबै लघुवित्तका कुराहरु आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा समेटिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई व्याजदरमा १८ प्रतिशतको क्याप लगाइदिएको छ, तर वाणिज्य बैंकहरुलाई खुला गरेको छ । यो त्यति सकारात्मक पक्ष होइन । यसबाहेकका धेरै कुराहरु राम्रा छन् । लघुवित्त संस्था सञ्चालनका लागि नयाँ आवेदनमा रोक लगाइएको छ । यो सबैभन्दा महत्वपूर्ण कुरा छ । हामीले यसलाई स्वागत गरेका छौं । त्यस्तै लघुवित्तको पूँजीबृद्धिका बारेमा मौद्रिक नीति मौन बसेको छ यो पनि स्वागतयोग्य छ । समग्रमा यस बर्ष ल्याइएको आगामी आर्थिक बर्षको मौद्रिक नीति लघुवित्तका लागि एकदम राम्रो छ ।