Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरमा ‘भ्याट काण्ड’ बल्झीयो, विवादपछि समस्या लम्विने संकेत

२०७४ असार २४ गते

धितोपत्र दलाल व्यवसायी संघलाई सेयर कारोबार गरेबापत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कि नलगाउने भन्ने विवाद लामो समयसम्म कायम रहने देखिएको छ । सङ्घले आफू कर तिर्न तयार भए पनि नियम र कानुनको अभावमा तत्काल त्यो सम्भव नभएको तर्क राख्दै आएको छ । तर नेपाल धितोपत्र बोर्डले बजार नै प्रभावित पार्ने गरी बन्द गरिनु गलत रहेको र संवैधानिक निकायले बेरुजुको प्रसंग उठाएकाले त्यसको पनि उचित निरूपण गर्नुपर्ने माग पनि सँगै उठेको छ । महालेखा परीक्षकको कार्यालयले संघले कारोबार गर्दा लाग्ने कर नतिरेकामा बेरुजु भएपछि त्यसको उचित निरूपण गर्न अर्थमन्त्रालयलाई सचेत गराएको थियो । महालेखाको यो कदमपछि आन्तरिक राजस्व कार्यालयले संघलाई पत्रमार्फत कर तिर्न र भ्याटमा दर्ता हुन भनेको थियो । शुक्रबार आयोजित ‘नेपालको पुँजी बजारमा भ्याट समस्या र समाधान' विषयको कार्यक्रममा बोर्डका निर्देशक नवराज अधिकारी बजारलाई सरल र लगानीमैत्री बनाउनुपर्ने र त्यसका लागि विधि र नियमका आधारमा आवश्यक निर्णय गरिनुपर्ने बताउनुभयो । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूचीमा वित्तीय क्षेत्रमा भ्याट लाग्ने वा नलाग्ने भन्ने व्यवस्था भएको नदेखिएकाले सो सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्ने देखिन्छ ।

धितोपत्रको कारोबार वित्तीय कारोबार नै हो भन्नेमा मुलुकका विभिन्न कानुनले प्रस्ट व्यवस्था गरेको छ । तर संघ भ्याट लाग्ने भए कारोबार गर्नेलाई लगाउनुपर्ने अडानमा देखिन्छ । लगानीकर्ता कमिसनमा कर लाग्ने भएकाले आफूको टाउकामा हाल्न नहुने तर्क गर्छन् । लगानीकर्ताले भ्याट लगाइए त्यसको मार आफूलाई पर्ने भन्दै विरोधमा उत्रिएको छ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल थप कर लगाउने विषय बजारको काँडेतार भएकाले त्यस्तो हुन नहुने बताउनुहुन्छ । दैनिक एक अर्बभन्दा बढीको कारोबार हुने बजारको आधाभन्दा बढी हिस्सा साना तथा मझौला लगानीकर्ताको रहेको छ । कुल २० खर्ब रुपैयाँको बजार प्रभावित हुने र लगानीकर्ता निराश हुने अध्यक्ष अर्याल बताउनुहुन्छ । सरोकार भएकासँग छलफल नै नगरी केवल करमात्रै लगाउने विषय गलत भएको उहाँको धारणा छ । उता धितोपत्र दलाल व्यवसायी संघका अध्यक्ष प्रियराज रेग्मी आफू अहिलेसम्म करमा दर्ता नभएकाले कानून भए त्यसका लागि तयार रहेको बताउनुहुन्छ । नेपाल स्टक एक्सचेन्ज र बोर्डले सेयर दलालमा संलग्नलाई ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन लिने व्यवस्था गरेको छ । अध्यक्ष रेग्मीले भन्नुभयो, ‘कर तिर्ने ठाउँ देखाइदिनुस्, हामीहरू तिर्न तयार छौं तर त्यसको मारमा लगानीकर्ता पर्नुहुन्न ।

कर कानुनी दायित्व हो । त्यो तिर्न तयार छौं ।' कानुनी प्रश्न समाधान नगरी एकोहोरो तवरले सरकारी निकायले आफूहरूलाई पेलेको जानकारी दिँदै उहाँले संवैधानिक निकायले नै भनेपछि आफूहरूका लागि कर बाध्यकारी व्यवस्था हुने स्पष्ट पार्नुभयो । अर्थशास्त्री डा. डिल्लीराज खनाल शब्दमा सेयर कारोबार वित्तीय कारोबार भएकाले कर लाग्ने कुरा स्वाभाविक भएको बताउनुहुन्छ । नीतिगत एवम् कानुनी प्रबन्ध गरेर करको दायरामा नरहेका क्षेत्र तथा विषयलाई समेट्नुपर्ने तर त्यसबाट नकारात्मक असर परे न्यूनीकरण कसरी गर्ने भन्ने कुराको पनि खोजी गरिनुपर्ने उहाँको भनाइ छ । पछिल्लोपटक देखिएको विवाद समाधानका लागि अर्थमन्त्रालयले समेत बिचको बाटो खोजेको हो । मन्त्रालयले तत्काल यथास्थितिमा कारोबार गर्न संघलाई आग्रह गरेको छ । राजस्व सचिव राजन खनालले बजार नै बन्द गर्ने कार्य गलत भएकाले कानुनी प्रबन्धका सम्बन्धमा आवश्यक निर्णय लिइने विश्वास दिलाउनुभएको धितोपत्र दलाल व्यवसायी संघका अध्यक्ष रेग्मीको भनाइ छ । सांसद रामहरि खतिवडाले राज्यलाई कर नै नतिर्ने भन्ने कुरा विधिको शासन र कानुनी राज्यको प्राथमिकताभित्र नपर्ने भए पनि समस्या देखिएपछि समाधान गर्ने पहलकदमी सरकारबाट हुनुपर्ने बताउनुहुन्छ । रासस