धेरै उतारचढावपछि यो साताको अन्तिम दिन सेयर बजार उल्लेख्य रुपमा बढेर बन्द भयो । दोहोरो अंकको गिरावटबाट सुरु भएको साताको अन्त्य दोहोरो अंकको वृद्धिसँगै भयो । आइतबार २२ अंकले घटेको सेयर बजार विहीबार ३१ अंकले बढ्यो । योबीचमा बजारमा उतारचढाव आइरह्यो । सोमबार सामान्य बढेको सेयर बजार मंगलबार पुनः घटेको थियो भने बुधबार ९.७८ अंकले बढेको थियो । यसरी, गत साताको अन्तिम दिन १५६३.८१ अंकमा बन्द भएको नेप्से यो साता १५८२.११ अंकमा छ । यसआधारमा हेर्दा, साताभरमा सेयर बजार १८.३ अंकले बढेको देखिन्छ ।
साताको सुरुवातमा निराशाजनक रहेको कारोबार रकममा पनि सुधार आउन थालेको छ । साताको पहिलो दिन ५६ करोडको कारोबार भएको बजारमा सोमबार, मंगलबार र बुधबारको कारोबारले ५० करोड पनि पार गर्न सकेन । विहीबार भने कारोबार रकममा उल्लेख्य वृद्धि भयो । सो दिन ७६ करोडको कारोबार भयो । समग्रमा, यो साताभर दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार सात सय ६१ रुपैयाँको कारोबार भएको छ ।
यो साता नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको राम्रो कारोबार भएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, पोखरा फाइनान्स लगायतका सेयरधनीले धेरथोर कमाइ गरेका छन् । एभरेष्ट बैंक (सीपी), वल्र्ड मर्चेन्ट बैंकिङ लगायतका सेयरधनीले गुमाएका छन् ।
साताको सुरुवात जेजस्तो भएपनि साताको अन्त्यले सकारात्मक संकेत गरेको छ । त्यसो त, हरेक आर्थिक वर्षको अन्त्यमा सेयर बजार उकालो लाग्ने गरेको इतिहास छ । यो बजार बढ्ने सिजन भएका कारण अब सेयर बजारले वृद्धिकै बाटो समात्ने अपेक्षा गरिएको छ ।


