Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा हरियाली, जम्मा १८ कम्पनीका सेयरधनीले गुमाए

२०७४ असार २२ गते

लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३१.०५ अंकले बढेर १५८२.११ अंकमा पुगेको छ । सबै उपसूचकहरु उकालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ३१९.९ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २४.५३, ५८.८७, ३९.४५, २०.७४, ४.९२, ११.२४ र ४.३४ अंकले बढेका छन् ।

कारोबार रकममा पनि विहिबार उल्लेख्य सुधार आएको छ । केही समयदेखि ५० करोड नाघ्न नसकेको कारोबार रकमले आज पौने एक अर्ब पार गरेको छ । दिनभरिमा १४८ वटा कम्पनीको ३५ लाख नौ हजार तीन सय ९० कित्ता सेयर छ हजार छ सय ९० पटक खरिदविक्री हुँदा ७६ करोड ३० लाख ६८ हजार आठ सय ३३ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, सबैभन्दा धेरै नेरुडे लघुवित्तको छ करोड २० लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ  इन्स्योरेन्सको पाँच करोड ५९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको चार करोड र एनसीसी बैंकको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने कुमारी बैंकको पनि झन्डै दुई करोडको कारोबार भएको छ । निर्धन उत्थान बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

अरुण भ्याली हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ७.४१ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । निर्धन उत्थान बैंक, नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल माइक्रोफाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सिनर्जी पावर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कुमारी बैंक, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

विहीबार जम्मा १८ कम्पनीका सेयरधनीले गुमाएा छन् । गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले ८.२२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले ५.१८ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, गुडविल फाइनान्स, जेविल्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स प्रोमोटर, सप्तकोसी डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई समुन्नत स्किम, रिडी हाइड्रो, रुरल माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआईबिएल प्रगति फण्ड, लक्ष्मी भ्यालु फण्ड र देवः विकास बैंकका सेयरधनीले पनि गुमाएका छन् ।