सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सानिमा बैंक लिमिटेडको लिलामी सेयर भर्ने आज अन्तिम दिन रहेको छ । दुबै बैंकले गत असार १५ गतेदेखि लिलामीमा सेयर विक्री खुला गरेका थिए ।
सानिमा बैंकले हकप्रद निष्काशन गर्दा आबेदन नपरेको साधारण समुहतर्फको दुई लाख ११ हजार ४७ कित्ता सेयर लिलामीमा राखेको छ । बैंकको लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रबन्धक सीबीआईएल क्यापिटलमा बाटुलेघर डिल्लीबजारमा आवेदन दिनुपर्ने हुन्छ ।
त्यस्तै, सिटिजन्स बैंकले समेत संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता र सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता सेयर लिलामी विक्रीमा राखेको छ । लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले सिटिजन्स बैंकको सेयर विक्री प्रबन्धक सानीमा क्यापिटलमा वा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटीमा आवेदन दिनुपर्ने हुन्छ ।
दुबै बैंकको लिलामीमा आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताको लागि वा सोभन्दा बढिका लागि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले लिलामी आवेदन गर्दा १० कित्ताको गुणांकमा सेयर आवेदन गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढि बोलकबोल गर्नेले सेयर प्राप्त गर्नेछ ।
सानिमा बैंकको लिलामी सेयरको बोलपत्रहरु असार २३ गते दिउँसो २ बजे सीबीआईएल क्यापिटलको कार्यालय बाटुलेघर डिल्लीबजार र सिटिजन्स बैंकको शिलबन्दी बोलपत्र पनि असार २३ गते नै दिउँसो साढे तीन बजे सानिमा क्यापिटल नारायणचौर नक्सालमा खोलिनेछ ।
२९ गतेदेखि अन्य दुई बैंकको
यही असार २९ गतेदेखि टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड र सहयोगी विकास बैंकले पनि हकप्रद निष्काशनका क्रममा नबिकेको सेयरलाई लिलाम विक्रीका लागि खुला गर्दैछन् । टुरिजमले संस्थापकतर्फको ८२ हजार पाँच सय २३ कित्ता र सहयोगीले साधारणतर्फको १६ हजार तीन सय ६८ कित्ता सेयर लिलामीमा निकाल्न लागेको हो । दुवै बैंकको सेयर लिलामी साउन ५ गतेसम्म खुला रहनेछ । टुरिजमको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटृड रहेको छ भने सहयोगीको सनराइज क्यापिटल लिमिटेड रहेको छ ।




