सुष्मा थापा । पछिल्लो समय सेयर ब्रोकरहरुको कमिसन, भ्याट लगायतका विषयमा विवाद आइरहेको छ । गत विहीबार मात्रै कमिसनमा भ्याट लगाउने निर्णयको विरोधमा ब्रोकरहरुले सेयर कारोबार नै हुन दिएनन् । वास्तवमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बीचको विवादमा सेयर बजारमा बारम्बार भाँडभैलो हुने गरेको छ । यसले नेपालको समग्र सेयर बजार नै प्रभावित हुने गरेको छ ।
गत साता आन्तरिक राजस्व विभागले सेयर किनबेचको कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन निर्देशन दिएको थियो । तर, कानूनी व्यवस्थाविना भ्याट लगाउने निर्देशन विधिसम्मत र व्यावहारिक नभएको भन्दै ब्रोकर कम्पनीहरू त्यसको विरोधका उत्रिएका थिए । महालेखा परीक्षकको कार्यालयले ब्रोकर कम्पनीको कमिशनमा भ्याट लगाउन भन्दै अर्थ मन्त्रालयलाई बेरुजू लेखेपछि आन्तरिक राजस्व विभागले आव २०६९।७० देखि अहिलेसम्मको भ्याट बुझाउन ३ ब्रोकर कम्पनीलाई पत्र लेखेको थियो । ब्रोकर नं. ५२ सुन्धारा सेक्युरिटिज, ब्रोकर नं. ५३ इन्भेष्टमेण्ट म्यानेजमेण्ट र ब्रोकर नं. ५४ सेवा सेक्युरिटिजलाई पुरानो सबै भ्याट तिर्न र बाँकी ब्रोकरलाई फुल अडिटका लागि पत्र लेखेको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार भ्याट तिर्न पत्र लेखेका यी तीनओटै कम्पनीलाई डेढ करोड रुपैयाँ भ्याट बुझाउन आग्रह गरिएको हो । साथै, ब्रोकर कम्पनीहरूलाई भ्याटमा दर्ता हुनसमेत राजस्व कार्यालयले निर्देशन दिएको छ ।
यसै निर्देशनको विरोध गर्दै ब्रोकरहरु बिहीवार कारोबार रोकेर नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागमा ज्ञापनपत्र बुझाउन पुगेका थिए । नेप्सेले समस्या समाधानका लागि पहल गरी नियमित सेयर कारोबार गर्ने वातावरण निर्माण गरिदिन भन्दै बोर्डमा बिहीवार नै पत्र पठाएको थियो । सोही दिन साँझ धितोपत्र बोर्डले सेयर कारोबार सुचारु गराउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले बिहीवारै ज्ञापनपत्र लिएर गएका ब्रोकरहरूमार्फत बजार सञ्चालक र प्राथमिक नियामकका हैसियतमा नेप्सेले नै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताएको थियो ।
यसअघि पनि सेयर ब्रोकरको कमिसनको विषयमा विवाद उठेको थियो । सेयर कारोबार पश्चात् ब्रोकरलाई तिर्ने कमिसनलाई ४० प्रतिशत घटाएर ०.४ देखि ०.६ प्रतिशतमा कायम गर्दा पनि सेयर बजारमा भाँडभैलो सुरु भएको छ । धितोपत्र बोर्डको निर्णयमा नेप्सेको विमति र नेप्सेको निर्णयमा बोर्डको विमतिका कारण सेयर लगानीकर्ता बारम्बार पिल्सिने गरेका छन् ।
वास्तवमा सेयर ब्रोकरको कमिसन, भ्याट लगायतको विषयमा धेरै पहिले नै निर्णय भइसकेको हुनुपथ्र्यो । आजसम्म खुला रुपमा छुट दिएका कारणले यस्तो विवाद देखिने गरेको छ । राजस्व कार्यालयले यो कुरा पाँच वर्ष अगाडि नै उठाएको थियो । यो व्यवस्था कानुनमा नै भएकाले सेयर कारोबारलाई करको दायरामा ल्याउनैपर्ने तर्क राजश्व कार्यालयको छ । यता, ब्रोकरहरुले भने नेपालमा दक्षिण एशियाकै महँगो कमिशन असुली गरिरहँदा भ्याटको बहानामा फेरि शेयर कारोबार नै बन्द गरेर झनै गैरजिम्मेवार बनेको बताउँदै आएका छन् ।
पछिल्लो समय नेपालको सेयर बजार व्यवस्थित बन्दै गएको छ । मुलुकभरका सर्वसाधारणलाई सेयर बजारमा ल्याउने प्रयास भइरहेको छ । प्रविधिका हिसाबले पनि सेयर बजारमा सुधार आउँदैछ । तर, करजस्तो कुरामा हालसम्म सेयर बजारलाई नै अलग राखिनु र एक्कासी कारोबार नै बन्द हुने स्थिती सिर्जना हुने गरी भ्याट बुझाउन निर्देशन दिनुले कानुनको हिसाबमा अझै पनि सेयर बजार फितलो रहेको संकेत गर्छ । पछिल्लो समय सेयर बजारतर्फ सबैको आकर्षण बढिरहेको छ । मुलुकमा लगानीको प्रमुख थलो बनिरहेको सेयर बजारसम्बन्धी हरेक कानुन तथा नीति नियम स्पष्ट हुनु आवश्यक छ । अहिले ५० हजारसम्म शून्य दशमलव ६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म शून्य दशमलव ५ प्रतिशत, २० लाखदेखि १ करोडसम्म शून्य दशमलव ४५ र १ करोडमाथि शून्य दशमलव ४ प्रतिशत कमिशन छ । नेपालमा हाल ५० जटा सेयर ब्रोकर कम्पनीहरु सञ्चालनमा छन् ।




