बुधबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १.२८ अंकको गिरावटसँगै १५६३.८१ अंकमा कायम हुँदा कारोबार रकम पनि ५० करोडबाट तल झरेको छ । दिनभरिमा १४० वटा कम्पनीको सात लाख ९९ हजार तीन सय १८ कित्ता सेयर चार हजार तीन सय ६६ पटक खरिदविक्री हुँदा जम्मा ४९ करोड ६८ लाख ७६ हजार छ सय ५१ रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ, जलविद्युत् र अन्य समूहले आजको बजार ओरालेका छन् । यी समूहहरु क्रमशः ३.५३, ७.५२ र २.०३ अंकले घटेका छन् । होटल, विकास बैंक, फाइनान्स र बीमा भने क्रमशः २८.१४, ५, २.०३ र १०.९१ अंकले बढेका छन् ।
कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको हिमालयन जनरल इन्स्योरेन्सको चार करोड ९१ लाख रुपैयाँको कारोबार हुँदा नविल बैंक प्रोमोटरको दुई करोड ३६ लाखको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्सको पनि झन्डै दुई करोडको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।
एभरेष्ट बैंक (सीपी) र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले ८.१२ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, तिनाउ विकास बैंक, मञ्जुश्री फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, विजय लघुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुराँस लाइफ इन्स्योरेन्सका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै ७.४७९७ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, हाम्रो विकास बैंक, सेन्ट्रल फाइनान्स, ङादी ग्रुप पावर, रिलायन्स फाइनान्स, गुहेश्वरी फाइनान्स, एभरेष्ट बैंक, जेविल्स फाइनान्स, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



