टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले सात लाख चार हजार सात सय ३८ कित्ता सेयर लिलामीमा निकालेको छ । आज बुधबार (असार ७ गते)देखि विक्री सुरु भएको सेयर असार १५ गतेसम्म खुला रहनेछ । बैंकले हकप्रद सेयर निष्काशनका क्रममा नबिकेको दुई लाख ६६ हजार पाँच सय ३७ कित्ता साधारणतर्फ र चार लाख ३८ हजार दुई सय कित्ता संस्थापकतर्फको हकप्रद सेयर लिलामीमा विक्री खुला गरेको हो । टुरिजमले गत चैत १३ गतेदेखि वैशाख २६ गतेसम्म शतप्रतिशत हकप्रद निष्काशन गरेको थियो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।
दुई बैंकको सेयर छिटै आउँदै
सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि हकप्रद सेयर निष्काशन गर्दा नबिकेको सेयरलाई बोलकबोलका माध्यकबाट विक्री गर्ने भएका छन् । सानिमाले सर्वसाधारणतर्फको दुई लाख ११ हजार ४७ कित्ता हकप्रद सेयर असार १५ गतेदेखि २२ गतेसम्म लिलामीमा राख्दैछ । त्यस्तै, सिद्धार्थले संस्थापक समूहतर्फको चार लाख पाँच हजार आठ सय ८८ कित्ता र सर्वसाधारणतर्फको चार लाख ५१ हजार पाँच सय ४८ कित्ता सेयर असार १४ देखि २१ गतेसम्म लिलामीमा निकाल्न लागेको लागेको छ । सानिमाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ भने सिद्धार्थको सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।


