Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब स्थानीय तहबाटै सेयर खरीदबिक्रि हुने

२०७४ असार ४ गते

सुष्मा थापा । 
अब स्थानीय ठाउाबाटै सेयर खरिद गर्न सकिने भएको छ । आस्वा प्रणाली अनिवार्य भएपछि स्थानीय तहबाटै सेर खरीद गर्न सकिने भएको हो । आगामी साउन १ गतेदेखि आस्वा विना सेयर खरीदबिक्रि गर्न पाइने छैन । स्थानीय ठाउँका बैंकका शाखाबाटै शेयर कारोबार सुरु हुने छ । गत माघ १ गतेदेखि ऐच्छिक रुपमा लागू भएको आस्वा प्रणाली अब अनिवार्य हुने भएको हो । नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा आस्वा प्रणाली अनिवार्य गर्ने भएको हो । यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थासहित अन्य सरोकारवालाहरूबाट समेत माग भएको परिप्रेक्ष्यमा ०७४ साउन १ देखि लागू हुने गरी धितोपत्रको सार्वजनिक निष्कासनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको छ, ।  जसअनुसार, अब ०७४ साउनदेखि आस्वा विना सेयर खरिद गर्न पाइने छैन । यो प्रणालीमा हालसम्म २८ वटा वाणिज्य बैंकसहित ५७ वटा बैंक वित्तीय संस्था सहभागी भएका छन् । ती संस्थाहरूले ७५ वटै जिल्लाबाट प्राथमिक निष्कासनमा आवेदन दिन सक्ने सुविधा प्रदान गरेका छन् । यस प्रणालीमार्फत हालसम्म ७ संस्थाबाट सार्वजनिक निष्कासन भइसकेको बोर्डले जनाएको छ । आस्वा प्रणाली अनिवार्य भएपछि सेयर बजार सहज, पारदर्शी र अनुशासित हुने बोर्डको दाबी छ ।

के हो आस्वा प्रणाली 
धितोपत्र सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली ९अनलाइन सिस्टम० को समेत प्रयोग गर्न सक्नेछन् । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिनेछन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ ।

सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइन्छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण ९ट्रान्सफर० गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण ९ट्रान्सफर० गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ । 
सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण ९ट्रान्सफर० गरेपछि बाँकी रकम फुकुवा हुनेछ । 
एउटै लगानीकर्ताको नाममा एकभन्दा बढी दरखास्त दर्ता हुन आएको कुरा प्रमाणित भएमा, दरखास्त फारममा गलत विवरण भरेको वा उल्लेख गर्नु पर्ने सम्पूर्ण विवरण उल्लेख नगरेको वा भरेको नपाइएमा र धितोपत्र खरिदको लागि दरखास्त दिंदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरिद गरेको धितोपत्र बापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा आस्वा सेवा लिनका लागि दर्ता गरिएको दरखास्त रद्द हुन सक्ने व्यवस्था रहेको छ ।

आस्वा शूल्कसम्बन्धी व्यवस्था
अवेदकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत निवेदन दिँदा खाता रोक्का वापत शुल्क बुझाउनु पर्नेछ । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था छ । बैंक वा वित्तीय संस्थाले लगानीकर्ताबाट लिएको कूल सेवा शुल्कको पन्ध्र प्रतिशतले हुन आउने रकम निष्काशन तथा बिक्री प्रबन्धकलाई र तीन प्रतिशतले हुन आउने रकम बोर्डलाई धितोपत्र बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनु पर्नेहुन्छ । यद्यपि, पछिल्लो समय बैंकहरुले आस्वा सेवाको शूल्क घटाउँदै लगेका छन् । कतिपय बैंकले त यो सेवालाई निशूल्क नै गराएका छन् । कुमारी बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र सानिमा बैंकले निशूल्क आस्वा सेवा दिन सुरु गरेका छन् ।