Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरमा लगानीको ‘अपरचुनीटी’ : बजारको ‘भोलुम’ दोब्बर हुँदै

२०७४ असार १ गते

रुपा कोइराला । नेपाली सेयर बजारको दायरा बढ्ने भएको छ । पुँजी बजारमा सबै नेपालीको मात्र नभएर विदेशीको समेत लगानी भित्र्याएर बजारको दायरा फराकिलो बनाउने पहलहरु भइरहेको हो । हालै नेपाल धितोपत्र बोर्डको रजतजयन्ती कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजारलाई प्रतिस्पर्धी, सक्षम, लगानीकर्तामुखी बनाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । 

सेयर बजारमा उत्पादनमूलक क्षेत्र
अब उत्पादनमूलक क्षेत्रलाई पनि सेयर बजारमा समेटिने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनमूलक क्षेत्रका कम्पनीहरू सार्वजनिक निष्कासनमा आएको खण्डमा उनीहरुको विकास र विस्तारमा मात्र नभई सुशासन तथा सुसञ्चालनमा पनि गुणात्मक परिवर्तन हुने बताएका छन् । कृषि, पर्यटन, जलविद्युत्, घरेलु तथा साना उद्योग जस्ता क्षेत्रलाई सेयर बजारमा समेट्न लागिएको हो । 

विदेशी लगानीको प्रवेश गराउने तयारी
विदेशी लगानीलाई नेपाली सेयर बजारमा प्रवेश गराउने तयारी पनि भइरहेको छ । विदेशी लगानीसम्वन्धि कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी रूपमा नै सहजीकरण गर्ने तयारी गरिएको छ । मन्त्रीपरिषद्बाट पारित भइसकेको यो विधेयक अब संसदले पनि पारित गरेपछि कार्यान्वयनमा आउनेछ । विधेयकको दफा ४ मा पुँजी लगानी कोष सञ्चालन तथा कारोबार गर्ने संस्थागत विदेशी लगानीकर्ताले धितोपत्र बोर्डमा सूचीकृत भई नेपालमा कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ । विधेयकमा विदेशी कम्पनीले आफ्नो चुक्ता पुँजीको तोकिएबमोजिम प्रतिशतभन्दा बढीको लगानी धितोपत्रमा गर्न नपाउने व्यवस्था गरिएको छ । 

बीमाको बजार बढ्दै
नेपालमा १० वटा जीवन बीमा कम्पनीहरु थपिँदैछन् । सञ्चालनको अनुमति पाइसकेका यी कम्पनीहरुले अबको केही महिनाभित्रमा नै व्यवसाय सुरु गर्नेछन् । आइएमई, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्स गरी १० कम्पनीले व्यवसाय सञ्चालनको स्वीकृति पाएका छन् । 

लघुवित्त कम्पनीहरु थपिँदै
नेपाल राष्ट्र बैंकले २० वटा लघुवित्त वित्तीय संस्थालाई स्थापनाको अनुमति दिने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको स्थापनाका लागि हालसम्म प्राप्त भएका निवेदनका आधारमा राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न सैद्धान्तिक सहमति प्राप्त गरेका र फिट एण्ड प्रोपर टेस्ट सम्पन्न भई अन्तरक्रिया सम्पन्न भइसकेका तथा लघुवित्त संस्थामा परिणत हुन आवेदन दिएका वित्तीय मध्यस्थताको कारोबार गर्ने गैर–सरकारी संस्थाहरुको हकमा मात्र थप कारबाही अगाडि बढाइने व्यवस्था गरेको छ । सोही व्यवस्था अन्तर्गत रहेर थप २० वटा संस्थाहरुलाई स्थापनाको इजाजत दिने प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ ।

चुक्तापुँजीको केही प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्थाअनुरुप थपिन लागेका बीमा कम्पनी र लघुवित्त संस्थाहरुले सर्वसाधारणका लागि सेयर जारी गर्नेछन् । यी कम्पनीहरु सेयर बजारमा थपिएपछि सेयर बजारको दायरा अझ फराकिलो हुनेछ भने थुप्रै सर्वसाधारणलाई सेयरधनी बन्ने अवसर मिल्नेछ । 

निजी स्तरबाट स्टक एक्सचेञ्ज खोलिँदै
यता, निजी स्तरको नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । स्टक एक्सचेञ्ज स्थापना गर्न अनुमति मागेका चारओटा कम्पनीसँग नेपाल धितोपत्र बोर्डले अद्यावधिक जानकारी मागेको छ । झन्डै आठ वर्षअघि नयाँ स्टक एक्सचेञ्ज खोल्न अनुमति माग गर्दै धितोत्रप बोर्डमा निवेदन दिएका हिमालयन स्टक एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिभ स्टकसँग बोर्डले पत्र पठाएर अहिलेको स्थिति बुझ्न अद्यावधिक जानकारी मागेको हो । नयाँ स्टक एक्सचेञ्जको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको धितोपत्र बोर्डले जनाएको छ । त्यसका लागि कम्पनीको वर्तमान अवस्थाबारे बुझ्न आवश्यक भएकाले जानकारी माग गरिएको बोर्डको भनाइ छ । नयाँ स्टक एक्सचेञ्जका लागि नेप्सेमा सूचीकृत भएका कम्पनी मात्र प्रवद्र्धक हुन पाइने बोर्डले बताएको छ ।पूँजीबजारमा लगानीकर्ताको चाप बढ्न थालेपछि एउटै स्टक एक्सचेञ्जले धान्न मुश्किल पर्ने भएकाले धितोपत्र बजारको सुदृढीकरणका लागि बोर्डले निजीक्षेत्रमा स्टक एक्सचेञ्ज ल्याउने सैद्धान्तिक निर्णय गरेको थियो ।

धितोपत्र बोर्डका अन्य पहलहरु
पछिल्लो समय सेयर बजारलाई व्यवस्थित बनाउन नियामक धितोपत्र बोर्डले थुप्रै कदमहरु चालेको छ । प्राथमिक निष्कासनमा आवेदन गर्ने सबैलाई न्यूनतम १० कित्ता सेयर दिने व्यवस्था गरिएको छ, जसले आगामी दिनमा नेपाली नागरिकलाई बचत गर्ने र संकलित रकम उच्च प्रतिफल दिने कम्पनीमा लगाउने संस्कारको विकास गराउने अपेक्षा गरिएको छ । यो व्यवस्थाले ससानो पुँजी लिएर सेयर बजारमा आउनेहरुलाई पनि सेयरधनी बन्ने अवसर दिनेछ । 

त्यस्तै, राजधानी सहरमा मात्र नभएर मुलुकका अन्य क्षेत्रका सर्वसाधारणलाई पनि सेयर कारोबारमा संलग्न गराउन धितोपत्र दलालहरुलाई उपत्याकाबाहिर शाखा खोल्न निर्देशन दिइएको छ । बुटवल, विराटनगर लगायत मुलुकका बाह्य सहरहरुमा पनि धितोपत्र दलालहरुले आफ्नो शाखा खोलेर त्यहाँको पुँजीलाई पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने अवसर प्रदान गर्न सहयोग गरिरहेका छन् । 

केही समयअघि लागू भएको आस्वा प्रणालीले पनि राजधानी र देशका केही ठूला सहर बजारमा केन्द्रित रहेको पुँजी बजारलाई देशव्यापी बनाउन मद्दत गरेको छ । बैंकमार्फत नै सेयरमा लगानी गर्न पाइने भएपछि कम झन्झट हुने हुँदा सर्वसाधारणहरु सेयरमा लगानी गर्न आकर्षिक भएका छन् । त्यस्तै, डिम्याट खाताको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्थाले पनि सेयर कारोबारमा सहजता ल्याएको छ । 

जलविद्युत् क्षेत्रमा पुँजी बजारबाट पुँजी संकलन गरी आयोजना निर्माण गर्ने परम्पराले मुलुकको आर्थिक र सामाजिक विकासका साथै गुणस्तरीय जीवनयापनका लागि अत्यावश्यक मानिएको ऊर्जामा आत्मनिर्भरतातर्फ उन्मुख गराइरहेको छ । 

पछिल्लो समय नेपाली सेयर बजारमा देखिएका यी सकारात्मक परिवर्तनहरुले अब सेयर बजारको भोलुम ऐतिहासिक रुपमा नै बढ्न लागेको संकेत गरेको छ । सेयर बजारमा प्रविधिको प्रयोग बढ्दै जाँदा यो क्षेत्र पनि पारदर्शी र विश्वासिलो भएकोम छ । फलस्वरुप, सेयर बजारप्रति मानिसहरुको धारणा सकारात्मक हुँदै गएको छ ।