बुधबार सेयर बजार पुनः घटेको छ । चार दिनसम्म निरन्तर घटेर मंगलबार बढेको सेयर बजार बुधबार सामान्य ०.६६ अंकको गिरावटसँगै १५८४.४९ अंकमा कायम भएको छ । बीमा, जलविद्युत् र बैंकिङ समूह क्रमशः १९.१७, ८.०३ र १.१७ अंकले बढेका छन् भने होटल विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २९.०७, ३.०६, २.४४, ३४.३४ र ५.७९ अंकले घटेका छन् ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १४८ वटा कम्पनीको नौ लाख ४८ हजार आठ सय चार कित्ता सेयर पाँच हजार पाँच सय पाँच पटक खरिदविक्री हुँदा ५८ करोड ८१ लाख नौ हजार छ सय छ रुपैयाँको कारोबार भएको छ ।
कुल कारोबारमध्ये, एभरेष्ट बैंकको सबैभन्दा धेरै पाँच करोड २३ लाख रुपैयाँको कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र प्रभु बैंक प्रोमोटरको दुई करोडमाथि तथा नविल बैंक, नेपाल लाईफ इन्स्योरेन्स, नविल बैंक प्रोमोटर, नेपाल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
बुधबार पनि वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.३६ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाए । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले ६.०१ प्रतिशतका दरले कमाए भने एभरेष्ट इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, सिनर्जी पावर र अरुण भ्याली हाइड्रोका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, कर्णाली डेभलपमेन्ट बैंक, अरुण काबेली पावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, कन्काई विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.४५१४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । आरएसडीसी लघुवित्त, सिन्धु विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, एनएमबि माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



