गुडविल फाइनान्स लिमिटेडले असार १८ गतेदेखि १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साउन २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार १ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने बताइएको छ ।
कहाँबाट दिने आवेदन ?
हकप्रद निष्काशनका लागि गुडविलले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रदमा लगानीकर्ताले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, गुडविल फाइनान्स लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसार काठमाडौं, त्यस्तै शाखा कार्यालय डिल्लीबजार काठमाडौं, इन्द्रचोक काठमाडौं, तौमदी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, बिर्तामोड झापा, बाँके नेपागगञ्ज, घोराही दाङ, प्रकाशपथ इलाम र फिदिम मेनरोड फिदिमबाट आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय, वीरगञ्ज, विराटनगर, चिप्लेढुँगा पोखरा, बुटबल र धनगढीबाट पनि आवेदन दिनसकिने कम्पनीले जानकारी दिएको छ ।
कति पुग्यो चुक्तापुँजी ?
गुडविल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेर गुडविलले ४५ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनबमोजिक गुडविलले ८० करोड रुपैयाँ चुक्तापुज्ी पुर्याउनुपर्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर कम्पनीले सो पुँजी पुर्याउनेछ ।


