सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार सुरु गरेको छ । बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउने शिलशिलामा ख वर्गका दुई बैंकलाई खरिद गरी आइतबार (जेठ २८ गते)देखि एकीकृत कारोबार थालेको हो । काठमाडौंमा एक समारोहका बीच एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरंजीबि नेपालले पानसमा बति बालेर गरे ।
एकीकृत कारोबार पश्चात् बैंकको चुक्तापुँजी चार अर्ब ७१ करोड रुपैयाँ, निक्षेप ३८ अर्ब ५० करोड रुपैयाँ, कर्जा ३५ अर्ब रुपैयाँ तथा शाखा संख्या ५३ वटा पुगेको छ । निकट भविष्यमा नै बैंकले एकीकृत पुँजीमा ४० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्ससँग असार महिना भित्रै एकीकृत कारोबार गर्दैछ ।
सम्पूर्ण प्राप्तीहरु हकप्रद तथा चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर बैंकले तोकिएको आठ अर्ब पुँजी सजिलै पुर्याउने छ । सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको शाखा संख्या झन्डै ९० पुग्नेछ ।