आइतबार नेप्से १०.५० अंकको गिरावटसँगै १५९३.८१ अंकमा कायम भएको छ । अन्य समूहबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ९५.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ९.१९, १५.५५, ७.६९, ३०.६९, १.०९ र १३.१ अंकले घटेका छन् । अन्य समूह भने सामान्य ०.८६ अंकले बढेको छ ।
परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा जम्मा ५५ करोडको कारोबार भएको छ । १४१ वटा कम्पनीको नौ लाख ५० हजार चार सय ७३ कित्ता सेयर छ हजार नौ सय १४ पटक खरिदविक्री हुँदा ५५ करोड ६७ लाख ३६ हजार एक सय ६५ रुपैयाँ पुँजी परिचालन भएको हो ।
कुनै पनि कम्पनीको आइतबार उत्साहजनक कारोबार भएन । धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकको चार करोड १५ लाख रुपैयाँको कारोबार हुँदा कुमारी बैंक, गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोको एक करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक, प्रभु बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।
आइतबार जम्म १४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । आर एसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएका छन् भने एभरेष्ट बैंकका सेयरधनीले सबैभन्दा कम ०.०५९ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको स्टान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले ०.१३७ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रोका सेयरधनीले ६.५५ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी फाइनान्स, सिर्जना फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, कैलाश विकास बैंक, प्रिमियर इन्स्योरेन्स, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ५.०४४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । स्वरोजगार लघुवित्त, मञ्जुश्री फाइनान्स, रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जेविल्स फाइनान्स, बुटवल पावर कम्पनी, सहारा विकासक बैंक, मेरो माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



