वैशाख १७ गतेदेखि निष्काशन भइरहेको सानिमा बैंक लिमिटेडको हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । चैत्र १६ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय, सानिमा बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाको भित्री शाखा कार्यालयहरू र सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हकप्रद सेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।
सानिमाले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ८९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हालको चुक्ता पुँजी पाँच अर्ब ३० करोड ५८ लाख ७२ हजार तीन सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्नेछ ।


