यो साता चार दिन सेयर कारोबार भयो । सोमबार गणतन्त्र दिवसका दिन सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । सोमबार नै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरे । तर, बजेट सार्वजनिक भएको कुराको प्रभाव सेयर बजारमा देखिएन । गत साताको अन्तिम दिन बढ्ने आशा देखाएर गएको बजारको यो सातको सुरुवात दोहोरो अंकको गिरावटबाट भयो । बजेट सार्वजनिक भएको भोलिपल्ट पनि बजार दोहोरै अंकले घट्यो । बुधबार दोहोरो अंकले बढेर आशा लगानएको बजार साताको अन्तिम दिन सामान्य अंकको गिरावटसँगै १६०४.३१ अंकमा पुगेर बजार बन्द भयो । गत साताको अन्तिम दिन सेयर बजार १६२९.५२ अंकमा थियो । यस आधारमा, यो साता नेप्से २५.२१ अंकले घटेको छ ।
कारोबार रकममा पनि यो साता उतारचढाव देखिएको छ । पहिलो दुई दिन बढ्दो क्रममा रहेको कारोबार रकम पछिल्लो दुई दिन घट्दो क्रममा रहे । आइतबार ७५ करोडको कारोबार भएको बजारमा मंगलबार ७६ करोडको कारोबार भयो । बुधबार कारोबार रकम ६७ करोडमा झर्यो । विहीबार पुनः घटेर कारोबार रकम ६४ करोडमा सीमित रह्यो । समग्रमा यो साता दुई अर्ब ८४ करोड ८२ लाख ९७ हजार एक सय ६६ रुपैयाँको कारोबार भएको छ । गत साता दुई अर्ब ६८ करोड २२ लाख २५ हजार दुई सय ९४ रुपैयाँको सेयर कारोबार भएको थियो । गत साता पनि चार दिन मात्रै कारोबार भएको थियो ।
यो साता कुनै कम्पनीको पनि उत्साहजनक कारोबार भएको छैन । समग्रमा हेर्ने हो भने स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक लगायत ठूला कम्पनीहरुको राम्रै कारोबार भएको छ । समग्र बजार नै अन्यौलमा भएपछि यो साता कुनै कम्पनीका सेयरधनीले पनि धेरै कमाएनन् ।


