बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.१५ अंकको गिरावटसँगै १५९४.४३ अंकमा कायम भएको छ । फाइनान्स र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १२०.५ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः १९.३७, ११.०७, १६.२२, १०.४४ र २६.९ अंकले घटेका छन् । फाइनान्स र उत्पादनमूलक भने क्रमशः ०.२ र ५.१७ अंकले बढेका छन् ।
परिसूचक घटेपछि कारोबार रकम पनि खासै उत्साहजनक हुन सकेको छैन । दिनभरिमा १४७ वटा कम्पनीको १२ लाख ९७ हजार आठ सय २८ कित्ता सेयर सात हजार एक सय ९० पटक खरिदविक्री हुँदा ७६ करोड ३८ लाख १८ हजार ६० रुपैयाँको कारोबार भएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै पाँच करोड ६८ लाख १५ हजार रुपैयाँको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंकको चार करोड ८४ लाख रुपैयाँको काराबार भएको छ भने प्रभु बैंकको साँढे तीन करोडमाथिको कारोबार भएको छ । स्वरोजगार लघुवित्त, सोल्टी होटल, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स, सानिमा माई हाइड्रो लगायतको एक करोडमाथिको सेयर कारोबारम भएको छ ।
जम्मा १९ वटा कम्पनीका सेयरधनीले मंगलबार आफ्नो सम्पत्ति बढाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.७२ प्रतिशत र प्रभु बैंकका सेयरधनीले सबैभन्दा कम ०.२४ प्रतिशतका दरले कमाएका छन् । नेशनल माइक्रोफाइनान्सका सेयरधनीले ५.९१ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त, ब्टवल पावर कम्पनी, ग्लोबल आईएमई समुन्नत स्किम, नागवेली लघुवित्त, बोटलर्स नेपाल, जेविल्स फाइनान्स, नागरिक लगानी कोष, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि कमाए ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिनर्जी पावरका सेयरधनीले ५.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने मिथिला लघुवित्त र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डका सेयरधनीले क्रमशः ५.७४ र ५.१८ प्रतिशतका दरले गुमाएका छन् । पूर्णिमा विकास बैंक, नेपाल टेलिकम, डिप्रोक्स डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, अपि पावर कम्पनी, तिनाउ डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



