पछिल्लो समय हकप्रद निष्काशन गरेका थुप्रै बैंकहरुलाई हकप्रद सेयर बिकाउन हम्मेहम्मे पर्यो । हकप्रद सेयर नबिकेपछि लिलामीबाट सेयर विक्री गर्ने क्रम सुरु भएको छ । असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउन योजनाअन्सारको हकप्रद सेयर बिकाउन पर्ने भएपछि बैंकहरुले हकप्रद निष्काशनका क्रममा नबिकेको सेयरलाई लिलामीमा निकाल्ने गरेका हुन् ।
यसैबीच, यही जेठ महिनाभित्रै दुई वटा बैंक तथा वित्तीय संस्थाले लिलामीमा सेयर निकाल्ने घोषणा गरेका छन् । कुमारी बैंक लिमिटेडले जेठ १४ गतेदेखि २१ गतेसम्म र देवः विकास बैंकले जेठ १६ गतेदेखि २२ गतेसम्म सेयर लिलामी खुला गर्ने भएका हुन् ।
कुमारी बैंक लिमिटेडले तीन लाख ६६ हजार पाँच सय ६२ दशमलव ६६ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले साधारणतर्फ दुई लाख ८० हजार चार सय ७० कित्ता र संस्थापकतर्फ ८० हजार ९२ दशमलव ६६ कित्ता हकप्रद सेयर जेठ १४ देखि २१ गतेसम्म लिलामीमा विक्री खुला गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालयमा उक्त सेयर खरिदका लागि बोलकबोल गर्न पाइनेछ । बोलकबोल गर्दा प्रति कित्ता न्युनतम एक सय रुपैयाँ र १० कित्ताको गुणांमा आवेदन पेश गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी मूल्यमा आबेदन दिनेलाई प्रथामिकता दिएर वितरण गरिने छ । बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको कार्यालयमा जेठ २२ मा ३ बजे खोलिने जनाईएको छ । लिलामी सेयर नपाउने लगानीकर्तालाई क्यापिटलले जेठ २९ गतेदेखि रकम फिता गर्नेछ । बैंकले गत चैत ६ देखि बैशाख १० सम्म ५० प्रतिशत अर्थात दुई बराबर एकको दरले हकप्रद बिक्रि खुला गरेकोमा विक्री नभएको सेयरलाई लिलामीमा विक्री गर्न लागेको हो ।
त्यस्तै, देवः विकास बैंक लिमिटेडले तीन लाख ५६ हजार दुई सय ९७ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले हकप्रद निष्काशनका क्रममा नबिकेको संस्थापक तर्फको सेयरलाई जेठ २८ गतेदेखि असार १ गतेसम्म लिलामी बढाबढ गरी विक्री गर्न लागेको हो । देवःले गत माघ ९ गतेदेखि फागुन २७ गतेसम्म हकप्रद सेयर निष्काशन खुला गरेको थियो । बैंकले लिलामीमा निकालेको खरिद गर्न इच्छुकले बैंकको बिक्री प्रबन्धक एनआर्इ्बिएल क्यापिटल मार्केट्स लाजिम्पाटबाट आवेदन दिन सक्नेछन् । सेयरको अंकित मूल्य एक सय रुपैयाँ भएकाले खरिदकर्ताले सोभन्दा माथिको मूल्य तोकेर बोल गर्नुपर्नेछ ।


