Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आगामी आइतबारदेखि जलविद्युत् कम्पनीको पाँच लाख ४० हजार कित्ता आईपिओ आउँदै

२०७४ जेष्ठ ११ गते

आउँदो आइतबार (जेठ १४ गते) देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु हुने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन छिटोमा जेठ १८ गते र ढिलोमा २८ गते बन्द हुने बताइएको छ । 

छ्याङ्दीले चुक्तापुँजीको २० प्रतिशत सेयर जारी गर्ने जनाएको छ । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । सेयर निष्काशन गर्नका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये १० हजार आठ सय कित्ता सेयर कर्मचारीका लागि र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी पाँच लाख २६ हजार पाँच सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ । 

ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट उक्त सेयरका लागि आवेदन दिन सकिनेछ । 

छ्याङ्दीले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । इक्राको यो रेटिङले कम्पनीको वित्तीय आधारहरु औसतभन्दा कमजोर रहेको देखाउँछ ।

वि सं २०६४ साल भदौमा प्राईभेट कम्पनीको रुपमा यो जलविद्युत् कम्पनीको स्थापना भएको थियो । लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।