केही समयदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारले पुष्पकमल दाहालले राजीनामा दिने निर्णयलाई स्वागत गरेको छ । नेपाली काँग्रेसले सत्ता साझेदारीको सम्झौता कार्यान्वयन गर्न तीब्र दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामाको अन्तिम तयारी गरेका छन् । नौ महिनापछि सत्ता हस्तान्तरण गर्ने भन्ने सहमति अनुसार काम नभएपछि नेपाली काँग्रेस नेतृत्वले प्रचण्डमाथि तीब्र दबाब दिईरहेको छ । फलस्वरुप, प्रचण्डले राजीनामा दिन लागेका छन् भने प्रचण्डको सो निर्णयलाई सेयर बजारले स्वागत गरेको छ ।
नेप्से परिसूचक मंगलबार १०.११ अंकले बढेर १६२६.५१ अंकमा कायम भएको छ भने कारोबार रकम ७८ करोड ६६ लाख ३८ हजार छ सय १६ रुपैयाँ पुगेको छ । दिनभरिमा १४७ वटा कम्पनीको १० लाख १७ हजार तीन सय ५४ कित्ता सेयर सात हजार नौ सय ७६ पटक खरिदविक्री हुँदा सो कारोबार भएको हो ।
कुल कारोबारमध्ये, मेरो माइक्रोफाइनान्सको छ करोड ७१ लाख ७६ हजार सात सय ४४ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको पनि छ करोडमाथिको कारोबार भएको छ । सिद्धार्थ बैंक र हिमालयन जनरल इन्स्योरेन्सको चार करोडमाथिको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ भने नविल बैंक प्रोमोटर, एभरेष्ट बैंक र सिनर्जी पावरको दुई करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक र ग्लोबल आईएमई बैंकको क्रमशः एक करोड ९७ लाख र एक करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबार भएका सबै समूहहरु बढेका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ५५.०१ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ११.०७, ०.८२, १०.९५, २.८३, ११.३५, २०.९२ र ०.५८ अंकले बढेका छन् ।
उत्पादनमूलक समूहअन्तर्गतको हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ९.८७ प्रतिशतका दरले कमाएका छन् भने सोही समूहको बोटलर्स नेपालका सेयरधनीले ८.५३ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स र आरएसडीसी लघुवित्तका सेयरधनीले क्रमशः ७.७८ र ६.०६ प्रतिशतका दरले कमाएका छन् । जेविल्स फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल एसबिआई बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिनर्जी पावरका सेयरधनीले ३.९७७३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । रिडी हाइड्रो, पूर्णिमा विकास बैंक प्रोमोटर, एलआईसी नेपाल, नागबेली लघुवित्त, मेरो माइक्रोफाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक, पूर्णिमा विकास बैंक, नयाँ नेपाल लघुवित्त, एनबि इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




