April 13th, 2016

०७२ सालको शेयर बजार नयाँ उचाईमा : यस्ता छन् बजार उकास्ने सूचकहरु 

stock-bull-1भूकम्प तथा नाकाबन्दीले शिथिल बनेको अर्थतन्त्रमा सेयर बजारले भने उत्साह जगायो । लगानी तथा अवसरका आधारमा निराश बनाएको गत वर्ष सेयर लगानीकर्ताका लागि भने आत्मविश्वास बढाउने माध्यम बन्यो । भूकम्पका कारण ७ खर्ब र नाकाबन्दीले १ खर्बभन्दा धेरै नोक्सान गरेको करिब २१ खर्बको अर्थतन्त्रमा सेयर बजार सूचक भने हलसम्मकै उच्च अंकमा छ । ०६८ असार अन्तिममा २ सय ९१ अंकमा रहेको सेयर बजार सूचकले ०७२ मा उल्लेख्य सुधार गर्यो । विगतमा ६ खर्बको बजार पुँजीकरणलाई निक्कै पछि पार्दै करिब १५ खर्बसम्म पुगेको छ ।

गत वर्षमा यसअघिको उच्च विन्दु ११७५ लाई पार गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च अंक १३८८.६३ मा पुगेको छ । देशकै आर्थिक दुरवस्थामा पनि सेयर बजार भने एकोहोरो उकालो लागिरहेको छ । गत वर्षको पहिलो दिन वैशाख २ गते ९४४.१३ अंकमा रहेको नेप्से परिसूचक ४४५ अंकले बढेर अन्तिम दिन चैत ३० गते १३८८.६३ मा पुगेको छ ।

तरलताले व्याजदर घटाउँदा नाफामा शेयर बजार
गत वर्ष वित्तीय क्षेत्रको अधिक तरलताले ब्याजदर घटेपछि त्यसले पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्यो । वित्तीय प्रणालीमा रहेको अधिक लगानीयोग्य पुँजी लगानी हुन सकेन । त्यसकारण निक्षेप जम्मा गर्ने व्यक्तिले पनि धेरै प्रतिफलका लागि सेयर बजारमा लगानी गरे । साथै, बैंक वित्तीय संस्थाले लगानीको अवसर नपाएको अवस्थामा सेयर बजारमा लगानी हुने भए पनि सहज कर्जा दिन थालेपछि नेप्से परिसूचक ह्वात्तै बढ्यो । नेपाल राष्ट्र बैंकले विभिन्न प्रक्रियाद्वारा १७५ अर्ब तरलता खिचेको छ । केन्द्रीय बैंकले लिएको ४ गुणासम्मको पुँजी वृद्धिको नीतिले सेयर बजार झनै उकालो लाग्न सहयोग गर्यो ।

सकारात्मक कार्यसम्पादनको प्रभाव शेयर बजारमा
गत वर्ष सेयर बजारमा सूचीकृत कम्पनीको कार्यसम्पादन पनि सकारात्मक नै रह्यो । त्यसले पनि लगानीकर्ताको मनोबल उच्च बनाएको जानकारहरू बताउँछन् । सूचीकृत कम्पनीहरूले सेयरधनीलाई दिने प्रतिफल पनि विगत वर्षको तुलनामा कमी नआउने भएपछि करिब स्थिर रहेको अर्थतन्त्रले सेयर बजारमा लगानी बढाउन प्रोत्साहन गर्यो ।

कागजविहिन कारोबारको नयाँ इतिहास
०७२ सालले सेयर बजारका लागि नयाँ उचाइको मात्र नभई कागजविहीन कारोबार सुरु गरेर पनि इतिहास बनाएको छ । नेप्सेले पनि आफ्नो कारोबार प्रणाली स्तरोन्नति गरी सेयर कारोबारमा सहजता प्रदान गरेको छ । माघ १ देखि सुरु भएको केन्द्रीय निक्षेप सेवा (सीडीएस)को पूर्ण सञ्चालनले पनि लगानीकर्तामा बजारप्रतिको विश्वास बलियो बनायो । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कार्यकारी अध्यक्ष नियुक्त भएका डा. रेवतबहादुर कार्कीले बजारलाई आधुनिकतातर्फ उन्मुख गर्ने प्रयास गरे ।

समग्रमा बजारको प्रगतिले ०७२ मा सेयर बजारका लगानीकर्ता निरास हुनुपरेन । बरु, ०७३ सालका लागि थप उत्साह र आकर्षण थपेको छ ।