जनता बैंक नेपाल लिमिटेडको २१ हजार सात सय २६ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकको सेयर बुधबार नेप्सेमा कारोबारका लागि सूचिकृत गरिएको नेप्सेले जानकारी दिएको छ । जनता बैंकले २०७३ चैत १ गतेदेखि १५ गतेसम्म बोलकबोलबाट विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ २१ हजार सात सय २६ कित्ता सेयरलाई वैशाख १५ गते पुनः लिलामीमा विक्री गरेको थियो । सोही सेयरलाई जनताले बुधबार नेप्सेमा सूचिकरण गराएको हो ।
त्यस्तै, बुधबार काष्टमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको एक लाख ५८ हजार नौ सय १८ दशमलव ५४ कित्ता बोनस सेयर र १६ लाख ९९ हजार सात सय ४१ दशमलव ७० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएका छन् । बैंकले २०७३ मंसिर ३० गतेसम्म २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो भने गत आर्थिक वर्षको कमाईबाट २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयरलाई बैंकले कारोबार सुरु गर्नका लागि नेप्सेमा सूचिकृत गराएको हो ।


