पछिल्लो समय नेपालको राजनीतिमा देखिएको अस्थिरताको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको देखिएको छ । साताको पहिलो दिन १९ दशमलव ८४ अकले घटेको सेयर बजार मंगलबार र बुधबार सामान्य बढेपछि अन्तिम दिने घटेरै बन्द भएको छ । गत साताको अन्तिम दिन १६७०.६२ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १६५३.१८ अंकमा छ । यस आधारमा, यो साता नेप्से परिसूचकमा १७.४४ अंकको गिरावट आएको छ ।
परिसूचकमा गिरावट आएसँगै लगानीकर्ताहरुको मनोबलमा पनि गिरावट आएको देखिएको छ । साताभरको कारोबार रकम हेर्दा क्रमशः गिरावटको क्रममा रहेको देखिएको छ । आइतबार ७८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ९२ करोड ९० लाख रुपैयाँको मात्रै सेयर कारोबार भयो । बुधबार र विहीबार क्रमशः ८९ करोड र ७९ करोड रुपैयाँको कारोबारमा बजार सीमित रह्यो । समग्रमा, यो साता दुई अर्ब ५९ करोड ९७ लाख छ हजार पाँच सय १६ रुपैयाँ पुँजी परिचालन भएको छ ।
पुँजीवृद्धिका लागि बैंक तथा बीमा कम्पनीहरुले धमाधम हकप्रद सेयर निष्काशन गरिरहेका छन् । तर, हकप्रद घोषणा गरेका कम्पनीहरुको सेयरमा पनि लगानीकर्ताको खास आकर्षण देखिएको छैन । यो साता, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल एसबीआई बैंक लगायतको राम्रो कारोबार भएको छ । नयाँ नेपाल लघुवित्त, भार्गव विकास बैंक लगायतका सेयरधनीले कमाएका छन् भने काबेली विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।


