वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्रै सहयोगी विकास बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् । बैंकले हकप्रद प्रयोजनका लागि वैशाख १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
सहयोगीले १० बराबर ३.५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले हकप्रद निष्काशनका लागि गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेर ३१ करोड ४६ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको सहयोगीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४२ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।


