Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन

२०७४ बैशाख १० गते

कुमारी बैंक लिमिटेडको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले चैत्र ६ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातका हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा फागुन १९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नक्सालको नारायणचौरस्थित विक्री प्रबन्धकको कार्यालय र कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न पाइने बताइएको छ । 

बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशनका लागि कुमारीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डमा अनुमति पाएको थियो ।  

हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद सेयर वितरण गरेपछि बैंकको पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । 

यसबाहेक कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी छ अर्ब रुपैयाँ  नाघ्नेछ । त्यस्तै, चैत्र ९ गते बस्न लागेको साधारणसभामा बैंकले बोनस, हकप्रद र एक्विजिसनपछिको चुक्तापुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लग्दैछ । उक्त हकप्रद सेयर जारी गरेपछि कुमारीको चुक्तापुँजी आठ अर्बनजिक पुग्नेछ । चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेर कुमारीले सजिलै आठ अर्ब चुक्तापुँजी पुर्याउन सक्ने देखिएको छ ।