मंगलबार सेयर बजार ३४.०५ अंकले बढेर १७१०.२७ अंकमा पुगेको छ । कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १२०.१७ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ३७.१२, ९.६२, ५६.६८, १४.४७, १४.०७, २१.६ र १.४५ अंकले बढेका छन् ।
कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ । दिनभरिमा १४४ वटा कम्पनीको ३१ लाख चार हजार २६ कित्ता सेयर ११ हजार तीन सय १५ पटक खरिदविक्री हुँदा कुल एक अर्ब ९० करोड ७३ लाख ९६ हजार पाँच सय ८९ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, एनसीसी बैंकको नौ करोड पाँच लाख रुपैयाँको कारोबार हुँदा मुक्तिनाथ विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स र प्रभु बैंकको आठ करोडमाथिको कारोबार भएको छ भने गरिमा विकास बैंकको सात करोड र नेपाल इन्स्योरेन्सको छ करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको पाँच करोडमाथिको कारोबार भएको छ भने फस्र्ट माइक्रोफाइनान्सको चार करोड र सूर्या लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार भएको छ ।
अपि पावर कम्पनी र लक्ष्मी लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने आईएलएफसीओ माइक्रोफाइनान्स, तिनाउ डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल, सूर्या लाइफ इन्स्योरेन्स, रिलायबल माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स लगायत १४ कम्पनीका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
जम्मा ३० कम्पनीका सेयरधनीले मंगलबार आफ्नो सम्पत्ति घटाएका छन् । खानीखोला हाइड्रो, सेती फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र बुटवल पावर कम्पनीका सेयरधनीले तीन प्रतिशत तथा सिन्धु विकास बैंक, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, गुहेश्वरी फाइनान्स र हाम्रो विकास बैंकका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एनआईबिएल प्रगति फण्ड लगायत १० कम्पनीका सेयरधनीले एक प्रतिशतभन्दा बढीले गुमाएका छन् भने बाँकीले कम्पनीले एक प्रतिशतभन्दा कमका दरले गुमाएका छन् ।


