नेपाल बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र नेपाल बैंकको सेयर खरिद गरिसकेका सेयरधनीले नेपाल बैंकले बैशाख ७ गतेदेखि निष्काशन गर्न लागेको सेयर भर्न पाउनेछन् ।
बैंकले १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । जेठ १० गतेसम्म खुला रहने हकप्रद सेयरको निष्काशन तथा विक्रीको प्रबन्ध मिलाउने जिम्मा सिभिल क्यापिटल मार्केट लिमिटेडले पाएको छ ।
बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।
नेपाल बैंकले बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले चैत्र १५ गते धितोपत्र बोर्डको अनुमति पाएको थियो ।
हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भईरहेको बैंकले जनाएको छ ।



