जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । गभर्नर डा. चिरंजीबि नेपालले थापाथलीमा आयोजित कार्यक्रममा जनता बैंकको नाममा एकीकृत कारोबारको शुभारम्भ गरे ।
जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरपछि बनेको बैंकको निक्षेप ३७ अर्ब र कर्जा लगानी ३३ अर्ब पुगेको छ भने चुक्तापुँजी चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको छ ।
मर्जरपछि बनेको जनता बैंकको केन्द्रीय कार्यालय साविकको त्रिवेणी विकास बैंकको थापाथलीस्थित सेन्ट्रल बिजिनेश पार्कमा रहेको कार्यालयमा रहने भएको छ । त्यस्तै, संचालक समितिमा त्रिबेणीका तर्फबाट सर्वसाधारण सेयरधनी सञ्चालक गौतमप्रसाद खनाल थपिएका छन् भने जनता बैंकका केही सञ्चालक बाहिरिएका छन् ।
आठ अर्ब चुक्तापुँजी पुर्याउन जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । यी दुई बैंकबीच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । यसअघि जताले त्रिवेणीलाई गाभेर कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने निर्णय अघि सारेको थियो । तर, सिद्धार्थलाई खरिद गरेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले हकप्रद निष्काशनको निर्णयमाथि पुनर्विचार गरिने भएको छ ।


