यो साताको पहिलो दिन पाँच प्रतिशतले बढेर बन्द भएको सेयर बजार अन्य दिन निरन्तर ओरालो लाग्यो । तरपनि, समग्रमा नेप्से परिसूचक गत साताको तुलनामा बढेको छ । गत साता १५८७.६४ अंकमा बन्द भएको सेयर बजार यो साता १६५१.०४ अंकमा छ । जसअनुसार, यो साता नेप्से परिसूचक ६३.४ अंकले बढेको छ । गत साता नेप्से १०१ अंकले बढेको थियो ।
साताभरमा नेप्सेमा १५५ वटा कम्पनीको एक करोड १० लाख ६२ हजार छ सय १० कित्ता सेयर ३७ हजार छ सय ५४ पटक खरिदविक्री भएका छन् । साताको आइतबार पाँच प्रतिशतले बजार बढ्दा पनि ९४ करोडको मात्रै कारोबार भएको बजारमा बाँकी तीन दिन एक अर्बमाथिकै कारोबार भयो । गत साताको तुलनामा भने यो साताको कारोबार रकम ९.०८ प्रतिशतले कम हो । गत साता १५५ वटा कम्पनीको एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयर ४५ हजार ७२ पटक खरिदविक्री हुँदा सात अर्ब १९ करोड ८९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमको आधारमा यो साता नेपाल बैंक अग्रस्थानमा रह्यो, जसको ३९ करोड ७३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसबाहेक, नेपाल क्रेडिट एण्ड कमर्स बैंककोे ३८ करोड ४६ लाख २० हजार रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २९ करोड ४२ लाख १० हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको २२ करोड ७८ लाख ३० रुपैयाँ र शिखर इन्स्योरेन्स कम्पनीको २० करोड ६९ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


