नेपाल बैंक लिमिटेडले बैशाख ७ गतेदेखि हकप्रद सेयर निष्काशा गर्दैछ । बैंकले १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ १० गतेसम्म खुला रहने हकप्रदमा चैत्र २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।
नेपाल बैंकले बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले चैत्र १५ गते धितोपत्र बोर्डको अनुमति पाएको थियो ।
हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भईरहेको बैंकले जनाएको छ ।



