गरिमा विकास बैंक लिमिटेडको १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन वैशाख १४ गतेदेखि सुरु हुने भएको छ । गरिमाले एक सय रुपैयाँ अंकित मूल्यमा ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकको हकप्रद सेयरमा चैत्र २९ गतेसम्म कायम सेयरधनीले जेठ १७ गतेसम्म उक्त हकप्रद भर्न पाउनेछन् । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेण्ट बैंकको प्रधान कार्यालय नक्साल काठमाडौं र शाखा कार्यालयहरु, गरिमा विकास बैंकको शाखा कार्यालयहरु, महालक्ष्मी विकास बैंकको शाखा कार्यलय धनगढी, कैलाली, महेन्द्रनगर, कञ्चनपुरबाट र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य शाखा कार्यलय, बिर्तामोड, झापा, धरान रोड, विराटनगर र मोरङबाट हकप्रद भर्न सकिनेछ ।
चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गरेर एक अर्ब २९ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । सो पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्दा गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा गरिमाले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।
