कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले मंगलबार (चैत्र २२ गते) नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सुदुरपश्चिमका कञ्चनपुर, कैलाली र डडेल्धुरा गरी तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन हाल कायम चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन गर्नेसम्बन्धी प्रस्ताव बैंकको गत पुस ९ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले पारित गरेको थियो ।
हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४५ करोड पाँच लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक बर्ष २०७३/०७४ को मुनाफाबाट चार करोड ९५ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गरेर ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने बैंकको योजना रहेको छ ।
पर्यटन, कृषि र स्थानिय उत्पादनमुलक क्षेत्रलाई विशेष प्राथामिकता दिएर लगानी गरेको बैंकले बजारको माग अनुसार लघु कर्जालाई व्यवस्थित तरिकाले लगानी गरिरहेको छ । यस कर्जाले गाँउका जनताहरुको आर्थिक उर्पाजनमा महत्वपूर्ण भूमिका खेलेको दाबी बैंकको छ । बैंकले व्यवसाय, उद्योग, हायर पर्चेज, घर कर्जा, बैदेशिक रोजगार कर्जा, शैक्षिक कर्जा जस्ता विभिन्न कर्जा योजनाबाट समेत लगानी गरिरहेकोे छ । बैंकको कार्यक्षेत्र भित्र सम्भाव्य रहेका क्षेत्रहरु पर्यटन, चिया, कफी, फलफुल, गाईपालन, बाख«ापालन, तरकारी खेतीसन्ग आवद्ध भई काम गर्ने उद्यमीहरुलाई विशेष प्राथामिकता साथ कर्जा लगानी गर्ने नीति बैंकले लिएको छ । बैंकले स्थानीय स्तरमा छरिएर रहेको निक्षेपलाई संकलन गर्न विभिन्न खालका निक्षेप योजना ल्याएको छ ।
बैंकले यूकेएड सक्षमसंग कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाका बीउ उत्पादक कृषकहरूको लागि मूल्य श्रृंखला वित्तियकरण सेवाको प्रारम्भ गर्नका लागि गत चैत्र १६ गते साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । यस परियोजनाले आगामी तीन वर्षमा उक्त जिल्लाहरुका १० हजारभन्दा बढी बीउ उत्पादक कृषकहरूलाई ऋण तथा अन्य वित्तीय सेवाहरू प्रदान गर्नेछ ।



