गरिमा विकास बैंक लिमिटेडको १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हकप्रद निष्काशनका लागि गरिमाले नेपाल धितोपत्र बोर्डको स्वीकृती पाएको छ । बोर्डले बैंकलाई सोमबार (चैत्र २१ गते) हकप्रद निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो । बैंकले चैत्र ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
त्यस्तै, बैंकले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति समेत तय गरेको छ । बैंकको सञ्चालक समितिले चैत्र ३० गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, चैत्र २९ गतेसम्म कायम सेयरधनीले मात्रै गरिमा विकास बैंकले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।
गरिमाले एक सय रुपैयाँ अंकित मूल्यमा ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गरेर एक अर्ब २९ करोड रुपैयाँ चुक्तापसुँजी पुर्याएको छ । सो पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्दा गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा गरिमाले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।


