यो साता नेपाल स्टक एक्सचेन्जमा सात अर्ब १९ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । साताभर चार दिन खुलेको बजारमा १५९ कम्पनीको एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयर ४५ हजार ७२ पटक खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको तुलनामा २४.६० प्रतिशतले बढी हो । गत साता १५५ कम्पनीको एक करोड आठ लाख ३३ हजार ८० कित्ता सेयरको ४१ हजार तीन सय ६३ पाँच पटक खरिद विक्री हुँदा पाँच अर्ब ६९ करोड ५४ लाख ४० हजार एक सय ४८ रुपैयाँको कारोबार भएको थियो ।
कारोबारको चारै दिन एक अर्बमाथिको कारोबार भएको बजारमा नेप्से परिसूचक भने घटबढ भइरह्यो । साताको पहिलो दिन ४७ अंकले बढेको बजार मंगलबार पाँच प्रतिशतले बढ्यो । बुधबार बजार दोहोरो अंकले घट्यो भने विहीबार सामान्य अंकले घटेर १५८७.६४ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से १४८६.०८ अंकमा थियो । यसआधारमा यो साता नेप्से परिसूचक १०१.५६ अंकले बढेको छ । गत साता नेप्से परिसूचक १२८.७ अंकले बढेको थियो । यस साताको कारोबारमा उत्पादन समूह बाहेक सबै समूह सकारात्मक रहे । सबैभन्दा बढी बीमा समूह ४२० अंकले बढ्यो । त्यस्तै, विकास बैंक ६०, वाणिज्य बैंक ५१, वित्त ३४, जलविद्युत १५, होटल १०, अन्य १० अंक तथा व्यपार १.६८ अंकले उकालो लागे ।
कारोबार रकमका आधारमा यो साता सानिमा बैंक अग्रस्थानमा रह्यो, जसको (४६ करोड १९ लाख रुपैयाँको कारोबार भयो । कारोबार भएको सेयर संख्याको आधारमा अग्रस्थानमा रहेको नेपाल बंगलादेशको संस्थापकको १० लाख ४७ हजार कित्ता सेयर कारोबार भयो । नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै तीन हजार ५३ पटक सेयर कारोबार भयो ।
यो साता नेप्सेमा नौ लाख ६६ हजार ४१ कित्ता बोनस सेयर थपिए । नेप्सेमा पश्चिमाञ्चल फाइनान्स, जानकी फाइनान्स, नमस्ते वित्तिय संस्था र महिला सहयात्रा माइक्रोफाइनान्सको बोनस सेयर सूचिकृत भएका हुन् ।


