Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विहीबार पनि सेयर बजारमा गिरावट, सानिमा र लक्ष्मीको हकप्रदले तान्यो लगानीकर्ता 

२०७३ चैत्र १७ गते

लगातार १० दिने उल्लेख्य रुपमा बढेर बुधबार घटेको सेयर बजारमा विहीबार पनि गिरावटले नै निरन्तरता पाएको छ । नेप्से परिसूचक सामान्य ०.६५ अंकले घटेर १५८७.६४ अंकमा कायम हुँदा कारोबार रकममा पनि एक अर्बमाथिको गिरावट देखिएको छ । बुधबार अढाई अर्बको कारोबार भएको बजारमा विहीबार एक अर्ब ४८ करोड ७८ हजार सात सय ६८ रुपैयाँको मात्रै कारोबार भएको हो । 

विहीबारको बजार बैंकिङ, विकास बैंक, जलविद्युत् र उत्पादनमूलक समूहले घटाएका छन् । यी समूह क्रमशः ३.८, ५.८१, १६.९८ र ११.०१ अंकले घटेका छन् । होटल, फाइनान्स, बीमा र अन्य भने क्रमशः ५.५, ८, ६९.९३ र २.०२ अंकले बढेका छन् । दिनभरिमा १४० वटा कम्पनीको २७ लाख २३ हजार छ सय २६ कित्ता सेयरको ११ हजार एक सय ४९ पटक खरिदविक्री भएको छ । 

कारोबारका आधारमा विहीबार सानिमा बैंक अग्रस्थानमा छ, जसको २२ करोड ५५ लाख ७२ हजार आठ सय ३३ रुपैयाँको कारोबार भएको छ । सानिमा बैंकले जारी गर्न लागेको हकप्रद सेयरका कारण कारोबार बढेको हो । त्यस्तै, बैशाख ३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको लक्ष्मी बैंकको ११ करोड ९४ लाख ४२ हजार तीन सय ९४ रुपैयाँको कारोबार भएको छ । यी दुवै बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यसबाहेक, कृषि विकास बैंकको आठ करोड ६० लाखको कारोबार हुँदा नेपाल बंगलादेश बैंक र एनसीसी बैंकको पाँच करोड, नेपाल बैंकको चार करोड र नेपाल बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्रभु बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक लगायतको तीन करोडमाथिको कारोबार भएको छ ।

बजारमा गिरावट आएपनि सृजना फाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने ज्योति विकास बैंक, सहारा विकास बैंक र नमस्ते वित्तीय संस्थाका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । सिभिल बैंक र नेपाल बंगलादेश बैंकका सेयरधनीले क्रमशः ६.२३ र ५.९७ प्रतिशतका दरले कमाएका छन् भने कालिका माइक्रोक्रेडिट, हाम्रो विकास बैंक, ग्लोबल आईएमई समुन्नत स्किम, किसान माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सेती फाइनान्सका सेयरधनीले ६.८९६६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले ६.७८०८ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रो, महिला सहयात्रा माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स, भार्गव विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।