Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले बढ्यो सेयर बजार, पौने ५४ करोडको कारोबार

२०७३ चैत्र ३ गते

साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । बुधबार १३५६.१३ अंकमा बन्द भएको बजार विहीबार १.२१ अंकले बढेर १३५७.३४ अंकमा पुगेको हो । परिसूचक सामान्य बढेपनि कारोबार रकममा भने राम्रो सुधार देखिएको छ । बुधबार ३६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको बजारमा विहीबार ५३ करोड ७३ लाख ९३ हजार दुई सय १५ रुपैयाँको कारोबार भएको छ । 

विहीबारको बजारलाई बीमा समूहले बढाएको छ भने बैंकिङ र अन्य समूहले बीमालाई साथ दिएका छन् । यी समूह क्रमशः ३३, १.३१ र १.१६ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स भने क्रमशः ६.८३, १.७३, १३.८७ र ०.०८ अंकले घटेका छन् । दिनभरिमा कुल १३६ वटा कम्पनीको १३ लाख ४६ हजार एक सय ७० कित्ता सेयर तीन हजार पाँच सय ८४ पटक खरिदविक्री भएका छन् । 

कारोबारका आधारमा विहीबार बैंक अफ काठमाण्डू लुम्बिनी प्रोमोटर रहेको छ, जसको सात करोड १२ लाख २६ हजार पाँच सय ४० रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको पनि सात करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंकको चार करोड ९५ लाखको कारोबार हुँदा लक्ष्मी बैंकको दुई करोड ९० लाख र नेपाल बंगलादेश बैंकको दुई करोड ६६ लाखको कारोबार भएको छ । नेशनल हाइड्रोपावर र शिखर इन्स्योरेन्स प्रोमोटरको पनि दुई करोडमाथिको कारोबार भएको छ भने प्रभु इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट प्रोमोटर, सानिमा बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

ङादी ग्रुप पावरका सेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा ज्योति विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, एनसीसी बैंक, सेती फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, नविल व्यालेन्स फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको वेष्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले ६.३६७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा अपि पावर कम्पनी, सानिमा माई हाइड्रो, मितेरी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, नेरुडे लघुवित्त, रिडि हाइड्रो, शिखर इन्स्योरेन्स प्रोमोटर, रुरल माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।